March 22nd, 2025

पहिलो महिला गभर्नर बनाउने अवसर: निलम सक्षम पनि, अनुभवी पनि

बैंकिङ खबर/ सरकारले नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ । नयाँ नियुक्ति प्रक्रिया अगाडि बढिरहेका बेला गभर्नर महाप्रसाद अधिकार भने चैत ५ गतेबाट ‘फोर्स लिभ’मा बसेका छन् । ०७६ चैत २४ मा नियुक्ति पाएर पाँच वर्षे कार्यकालको अन्तिम समयमा रहेका गभर्नर अधिकारी १० दिन अनिवार्य विदामा बसेका हुन् । गभर्नर अधिकारी विदामा बसेसँगै कायममुकायम जिम्मा डेपुटी गभर्नर डा.नीलम ढुंगानाले पाएकी छन् ।

अधिकारीको कार्यकाल चैत २४ गते सकिँदैछ । राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय ढुंगाना तिम्सिना र बमबहादुर मिश्रमध्ये एक जना डेपुटी गभर्नरलाई सिफारिसका लागि समितिले चयन गर्नुपर्ने राष्ट्र बैंक ऐनले नै व्यवस्था गरेको छ । डेपुटीद्वय आफ्नो नाम सिफारिसमा पार्न ठूलै कसरतमा छन् ।

एक डेपुटी गभर्नरसहित राष्ट्र बैंक ऐनले तोकेबमोजिम योग्यता पुगेका थप दुई सम्भावितसहित तीन जना आकांक्षीहरूको नाम मन्त्रिपरिषदमा पठाउनुपर्ने जिम्मेवारी सिफारिस समितिकाे हुन्छ । यसैले गभर्नरका सम्भावित तीनपर्ने विभिन्न नामहरू यतिबेला चर्चामा छन्।

राष्ट्र बैंकका अर्थशास्त्रीद्वय डा.गुणाकर भट्ट र डा. प्रकाश श्रेष्ठलाई बलियो आकांक्षीको रुपमा हेरिएको छ । यस्तै राष्ट्र बैंकका सञ्चालकद्वय रविन्द्र पाण्डे र चिन्तामणी सिवाकोटी पनि आंकाक्षी छन् । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू प्रभु बैंकका अशोक शेरचन, नबिल बैंकका ज्ञानेन्द्रप्रसाद ढुंगाना, एनएमबि बैंकका सुनिल केसी र माछापुच्छ्रे बैंकका सन्तोष कोइराला पनि गभर्नर बन्ने दौडमा छन्। यस्तै पूर्वअर्थसचिव रामेश्वर खनाल र लगानी बोर्डका पूर्वसीईओ सुशिल भट्ट पनि गभर्नरको आकांक्षी रहेको चर्चा छ ।

पहिलो महिला गभर्नर बनाउने अवसर

राष्ट्र बैंकको अठारौं गभर्नर बन्न एक दर्जनभन्दा बढी आकांक्षीहरूले लबिङमा छन् । सोहीमध्ये डेपुटी गभर्नर डा.ढुंगाना पनि नयाँ गभर्नर बन्ने दौडमा छिन् । नीलमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत नयाँ गभर्नर बन्न लविङ गरिरहेको बुझिएको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिलो महिला गभर्नर बनाउने अवसर पनि छ । गभर्नर नियुक्तिको मुखैमा ओलीले महिलालाई राष्ट्रपति, प्रधानन्यायाधीश र मुख्यसचिव आफ्नै पालामा बनाएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने,‘हामीले राष्ट्रपति महिला बनायौं । प्रधानन्यायाधीश महिला बनायौं । कतिपय देशले यो उपलब्धी हासिल गर्न सकेका छैनन् । महिला सभामुख बनायौं । महिला रक्षामन्त्री बनायौं । इट्स नट अ जोक । भर्खरै सुरु भएको संघीय प्रणालीमा मुख्यमन्त्री महिला बनाइसक्यौं । ब्युरोक्रेसीको टपमा अर्थात् मुख्यसचिव महिला बनायौं । संयोगवश भनौं वा प्रयासस्वरुप भनौं, यी सबै बनाउँदा मै पर्दो रहेछु, प्रधानमन्त्री ।’

देशका विभिन्न निकायको नेतृत्व र उच्च ओहोदमा महिला पुगिसकेको भए तापनि अहिलेसम्म महिला प्रधानमन्त्री, प्रहरी तथा सेना प्रमुख, केन्द्रीय बैंकका गभर्नर आदि केही भूमिकामा महिला पुगेका छैनन् । आफ्नै पालामा राष्ट्रपतिदेखि मुख्यसचिवसम्म महिला बनाएको दाबी गरेको प्रधानमन्त्री ओलीले थप भने, ‘एक्लै टप्लक्क राष्ट्रपतिमा महिला पुग्दैन, यदी महिला सशक्तिकरण छैन भने । महिला सहभागिताको राम्रो स्थिति छैन भने ।’

वर्तमान सत्ता समीकरणमा एकातिर महिला प्रधानमन्त्रीको कुरा उठिरहेको र अर्कातिर केन्द्रीय बैंकको रिक्त हुन लागेको गभर्नर पदमा महिला आकांक्षी समेत रहेको परिवेशमा ओलीको भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकी प्रधानमन्त्री ओलीले यसअघि नेपालमा महिला प्रधानमन्त्री बनाउने बताएका थिए । यस्तै ओलीले त्यतिबेला आफू महिलाको हितका लागि सधैं सक्रिय रहेको दाबी गर्दै पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख आफ्नै कार्यकालमा नियुक्त भएको बताएका थिए ।

नेपालमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की र पहिलो महिला सभामुख ओनसरी घर्ती मगर हुन् । यसैगरी भण्डारी पहिलो महिला रक्षामन्त्री पनि हुन् । ओलीले वर्तमान कार्यकालमा पहिलो महिला मुख्यसचिवका रूपमा लिलादेवी गड्तौलालाई नियुक्त गरेका थिए । त्यसै अहिले नेपालकै पहिलो महिला गभर्नर नियुक्ति गर्ने हात पनि उनैमा छ ।

को हुन् डेपुटी गभर्नर ढुंगाना

झापामा जन्मिएकी नीलमको विद्यालयदेखि नै कक्षामा कहिल्यै पछाडि पर्नुपरेन । पढाइमा सधैँ अब्बल भइराख्न पारिवारिक वातावरण अनुकूल थियो । बुबा माध्यमिक विद्यालयको निरीक्षक र आमा शिक्षिका । बुबा सरकारी जागिरे भएकाले जता सरूवा हुन्छ, त्यतै जाँदा निलमको विद्यालयको पढाइ पनि त्यतै सर्दै गयो । उनले २०४१ सालमा दमकस्थित हिमालयन माध्यमिक विद्यालयबाट एसएलसी दिइन् ।

उनी विज्ञान पढ्न चाहन्थिन तर दमकमा विज्ञान पढाउने क्याम्पस थिएन । उनले कमर्श पढिन् । आइकममा उनले जिल्लामा सर्वोत्कृष्ट अंक ल्याइन् । दमकमा आइकम सकाएपछि ‘बिकम’ पढ्न विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा भर्ना भइन् । स्नातक तहको पहिलो वर्ष पूरा भइसक्दा १९ वर्षको उमेरमा उनको विवाह भयो । विवाहपछि पनि पढाइ जारी नै रह्यो । केही समयपछि छोरी जन्मिइन् । त्यसपछि भने पढाइको गतिमा एक वर्ष बिराम लाग्यो । लगत्तै विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा एमबिए पढिन् । पढाइसँगै देवकोटा बोर्डिङ स्कुलमा अध्यापन सुरू भयो । स्नातकोत्तर तहमा उनी त्रिभुवन विश्वविद्यालयमा समग्रमा दोस्रो र महिलामा पहिलो भइन् । कीर्तिपुरस्थित विश्वविद्यालय आएर तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहबाट ‘गोल्ड मेडल’सँगै सम्मान ग्रहण गरिन् । फर्किएपछि स्नातकोत्तर क्याम्पसमै सहाप्रध्यापकको जागिर मिल्यो ।

सोही क्रममा नेपाल राष्ट्र बैंकले सहायक अधिकृत तहमा जागिर खुलायो । ढुंगानालाई भने यसबारे चासो र जानकारी थिएन । श्रीमानका विद्यार्थी सुनील खनालले विज्ञापन ल्याएका थिए । ढुंगाना भन्छिन्,‘सुनीलले हेर्नुहोस् यो विज्ञापन म्याडम, अब अध्यापनमा मात्रै सीमित भएर हुन्न भन्नुभयो । त्यो बेलामा उहाँले सके राष्ट्र बैंकमा नभए निजामती जागिर भए पनि खानुपर्छ भन्दै हौसाउनुभएको थियो, आवेदनको फाराम पनि उहाँकै कारणले भरेकी थिएँ ।’

फाराम भरेपछि तयारी पनि गर्नुपर्यो । केन्द्रीय बैंकको विराटनगरको कार्यालयबाट केही प्रकाशनहरू ल्याइन् । केही पत्रपत्रिका र केही पुस्तकको सहयोगमा तयारी पनि भयो । परीक्षा दिन रात्रिकालीन बस बढेर काठमाडौं आइन् । एकान्तकुनामा आफन्तकहाँ विश्राम लिएपछि बालुवाटारस्थित केन्द्रीय बैंक आउँदा बाहिरपट्टिको रूखमा टाँसिएको सूचनामा भनिएको थियो, ‘राजनीतिक परिवर्तनका कारण अहिलेका लागि सहायक अधिकृतको परीक्षा स्थगित भएको छ ।’

लामो समयदेखिको तयारी, विराटनगर–काठमाडौंको कष्टपूर्ण यात्रापछि जाँच स्थगितको सूचना ढुंगानाका लागि अपेक्षाभन्दा पर थियो । निराश मन लिएर बालुवाटारबाट गाडी चढेर रत्नपार्क पुग्दा सडक पेटीमा किताब बिक्रीका लागि राखिएको रहेछ । उनी भन्छिन्,‘बाटोमा किताब फिँजाएर बिक्री गरेको मलाई नौलो लाग्यो, विराटनगरमा त्यस्तो कहिल्यै देखिएन, एकान्तकुनाको गाडी चढ्नुअघि किताब नियाल्दै थिए, यत्तिकैमा ‘नेपाल राष्ट्र बैंक प्रतियोगिता गाइड’ देखेपछि नकिनी मनले मानेन् ।’

विराटनगर पुगेपछि किताब पढ्दा उनलाई लाग्यो, सायद तयारी अझै पुगेको रहेनछ । उनले पढ्न छुटाएका कैयौँ कुराहरू पुस्तकमा थिए । त्यही पुस्तक उनका लागि राष्ट्र बैंक प्रवेश गर्ने माध्यम बन्यो । विसं २०५४ असारमा जाँच भयो । दसैँ सुरू हुनुभन्दा अगाडि प्रकाशित नतिजामा उत्तीर्ण हुनेमा नीलम ढुंगानाको नाम पनि थियो ।
२०५४ सालको भाइटीकाको पर्सीपल्ट अन्तर्वार्ताको मिति तोकियो, त्यसमा पनि पास भइन् । नियुक्तिपत्र लिन काठमाडौं आएकी उनलाई यतै बस्नुपर्ने भयो । उनलाई केन्द्रीय कार्यालयमै विदेशी विनिमय व्यवस्थापन विभागमा खटाइएको रहेछ ।
त्यसपछिको एक वर्ष काठमाडौंमा बिताएपछि नीलमको विराटनगर नै सरूवा भयो । त्यहाँ तीन वर्ष बिताएपछि पुनःकाठमाडौं फर्किइन् । त्यसयता उनी राष्ट्र बैंकमा विभिन्न विभागमा रहेर काम गर्दै आफूलाई अब्बल सावित गर्दै आइन् । बैंकबाटै अष्ट्रेलिया पुगेर वलोङगङ्ग विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरिन ।

केही वर्षपछि उनले भारतबाट ‘मौद्रिक प्रसारण संयन्त्र र बैंक लेण्डिङ्ग विहेवियर’मा विद्यावारिधि पनि पूरा गरिन् । ढुंगानाले केन्द्रीय बैंकमा रहँदा विदेशी विनिमय व्यवस्थापन विभाग, विराटनगर क्षेत्रीय कार्यालय, बैंक सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, आन्तरिक लेखा परीक्षण विभाग तथा मौद्रिक व्यवस्थापन विभागमा कार्य अनुभव हासिल गरेकी छिन् । आफ्नो कार्यकालको सबैभन्दा लामो समय करिब ११ वर्ष आर्थिक अनुसन्धान विभागमा बिताइन् ।

उनी पोखरा क्षेत्रीय कार्यालयमा क्षेत्रीय निर्देशकका रूपमा सफलतापूर्वक १४ महिना काम गरिन् । मौद्रिक व्यवस्थापन विभागमा काम गर्दागर्दै नेपाल सरकारबाट उनलाई वरिष्ठ डेपुटी गभर्नरको रूपमा नियुक्त गरेको थियो । उनी निलम आज गभर्नरको दाबेदारको रुपमा रहेकी छन् । अहिले नेपालको पहिलो पटक महिला गभर्नर बन्ने सम्भावनाले पछ्याइरहेको छ । त्यो सम्भावना वरिष्ठ डेपुटी गभर्नरका रूपमा स्वतः उनलाई प्राप्त भएको हो । यतिबेला गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति पनि गठन भइसकेको छ । नेपाल राष्ट्र बैंकको ऐनमै गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा डेपुटी गभर्नर पनि हुनुपर्ने भनिएको छ । त्यसो हुनाले उनी भावी गभर्नरको स्वतः प्रबल दाबेदार हुन् ।

उनी भन्छिन्,‘करिब तीन दशकको यस यात्रामा मैले बैंकमा गरेको मेहनत, योगदान र अहिले वरिष्ठ डेपुटी गभर्नरका रूपमा र धेरै पटक कायममुकायम गभर्नरका रूपमा सफलतापूर्वक र सक्रियतापूर्वक निर्वाह गरेका जिम्मेवारीहरूलाई नियाल्ने हो भने गभर्नरका रूपमा काम गर्न सक्छु भन्ने पुष्टि हुन्छ ।’