बैंकिङ खबर/ नेपालमा गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित ह्याम्स अस्पताल र भारतको प्रतिष्ठित म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतबीच रणनीतिक सहकार्यको औपचारिक घोषणा गरिएको छ। यस सहकार्यले जटिल तथा विशिष्टीकृत उपचार आवश्यक पर्ने नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग सहज रूपमा जोड्ने, उपचार प्रक्रियालाई व्यवस्थित बनाउने तथा उपचारअघि र उपचारपछिको सेवालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। राजधानीको ¥याडिसन होटलमा आयोजित ‘कार्डियाक तथा थोरेसिक शल्यचिकित्सामा हालका प्रगतिहरू’ विषयक निरन्तर चिकित्सा शिक्षा (CME) कार्यक्रममा उक्त सहकार्य सार्वजनिक गरिएको हो। कार्यक्रममा नेपाल र भारतका वरिष्ठ कार्डियोथोरेसिक तथा थोरेसिक शल्यचिकित्सकहरू, स्वास्थ्य विज्ञ तथा चिकित्सा क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ह्याम्स अस्पतालका अनुसार यो सहकार्यले नेपाली बिरामीका लागि अन्तर्राष्ट्रिय स्तरको उपचार प्राप्त गर्ने प्रक्रियालाई अझ व्यवस्थित, सहज र विश्वासयोग्य बनाउनेछ। विशेषगरी मुटु, छाती तथा अन्य जटिल रोगका बिरामीले उपचारका लागि विदेश जानुपर्ने अवस्थामा विशेषज्ञ परामर्श, उपचार योजना, रेफरल प्रक्रिया, अस्पताल समन्वय तथा उपचारपछिको फलो–अपसम्मका सेवा एउटै प्रणालीमार्फत प्राप्त गर्न सक्ने व्यवस्था विकसित गरिनेछ।
कार्यक्रमलाई सम्बोधन गर्दै ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारीले भारतको म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतका कार्डियोथोरेसिक तथा भास्कुलर सर्जरी विभागका अध्यक्ष डा. रजनीश मल्होत्रा, थोरेसिक सर्जरी विभागका निर्देशक डा. शैवाल खण्डेलवाललगायत सहभागी विशेषज्ञ चिकित्सकहरूको स्वागत गर्दै यो सहकार्य नेपाली स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले नेपालमा आधुनिक स्वास्थ्य सेवा तथा विशेषगरी मुटु र कार्डियोथोरेसिक शल्यचिकित्साको विकासमा योगदान पुर्याएका डा. भगवान कोइराला, डा. प्रकाश सायमी, डा. रञ्जन सापकोटा र डा. ज्योतिन्द्र शर्मालगायत वरिष्ठ चिकित्सकहरूको योगदानको समेत प्रशंसा गरे। अध्यक्ष भण्डारीका अनुसार म्याक्स हेल्थकेयरसँगको साझेदारीले नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासम्म पुग्ने बाटो मात्र खोल्ने होइन, उपचारको सम्पूर्ण यात्रालाई थप व्यवस्थित बनाउनेछ। प्रारम्भिक विशेषज्ञ परामर्शदेखि उपचार समन्वय, आवश्यक परे भारतमा विशेषज्ञ उपचार तथा उपचार सम्पन्न भएपछि नेपालमै निरन्तर फलो–अप सेवा उपलब्ध गराउने एकीकृत प्रणाली विकास गर्ने लक्ष्य रहेको उनले बताए। यो सहकार्यबाट विशेष लाभ जटिल शल्यचिकित्सा, मुटु तथा छातीसम्बन्धी रोग, बहुविषयगत उपचार आवश्यक पर्ने बिरामी तथा उच्च विशेषज्ञता आवश्यक पर्ने स्वास्थ्य समस्याबाट पीडित नेपालीहरूले पाउने अपेक्षा गरिएको छ। विदेशमा उपचार गराउनुपर्ने अवस्थालाई व्यवस्थित बनाउनुका साथै बिरामी र परिवारले भोग्ने समन्वयसम्बन्धी झन्झट समेत घट्ने विश्वास गरिएको छ। ह्याम्स अस्पतालले यस साझेदारीलाई आफ्नो अन्तर्राष्ट्रिय सहकार्य विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
अस्पतालका अनुसार आगामी दिनमा ज्ञान, प्रविधि, अनुसन्धान, चिकित्सकको क्षमता विकास तथा उपचार प्रणालीमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानलाई पनि प्राथमिकता दिइनेछ। यसले नेपालमा विशेषज्ञ स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ। स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार पछिल्ला वर्षहरूमा नेपाली बिरामी जटिल उपचारका लागि ठूलो संख्यामा भारत जाने गरेका छन्। यस्ता अवस्थामा विश्वसनीय अस्पतालबीचको औपचारिक सहकार्यले उपचार प्रक्रियालाई सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउनुका साथै बिरामीले आवश्यक विशेषज्ञ सेवा समयमै प्राप्त गर्ने वातावरण सिर्जना गर्न मद्दत पुर्याउनेछ। ह्याम्स अस्पतालले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित, गुणस्तरीय र बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई यस रणनीतिक सहकार्यले थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। अस्पतालका अनुसार नेपाली बिरामीलाई आफ्नै देशबाट विश्वस्तरीय उपचार सेवासँग जोड्ने उद्देश्यले सुरु गरिएको यो पहल भविष्यमा नेपाल–भारत स्वास्थ्य सहकार्यको महत्वपूर्ण नमूनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

