२०८१ चैत्र १ गते

नेपालको लघुवित्त क्षेत्रमा सम्पत्ति शुद्धीकरणको अवस्था

दिवस ढकाल

लघुवित्त भन्नाले सानो आकारको कर्जा, बचत, बीमा तथा अन्य विविध वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्ने संस्थालाई बुझाउँछ । नेपालको अर्थ व्यवस्थामा यस्ता संस्थाहरुको योगदान अत्यन्तै महत्वूर्ण रहेको छ । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गरी गरिबी न्यूनीकरण र आर्थिक सशक्तिकरणमा सहयोग पुर्याउने उद्देश्यले लघुवित्त वित्तीय संस्थाहरु क्रियाशील रहेका छन् ।

यस्ता संस्थाले गरिब, विपन्न, महिला, सामाजिक रुपमा पिछडिएका, बैंकिङ्ग सुविधा नपुगेका तथा साना व्यवसायीहरु कारोवार गर्ने गर्दछन् । वित्तीय साक्षरता न्यून भएका वर्गमा काम गर्ने भएकाले यो क्षेत्रमा सम्पत्ति शुद्धीकरण (एएमएल) तथा आतंकवादमा वित्तीय लगानी (सिएफटी) को झन् धेरै जोखिम रहेको छ । लघुवित्त संस्थाहरुले प्रायः नगदमा आधारित लेनदेन गर्ने, साना ऋण प्रवाह गर्ने तथा ग्रामीण जनतासँग सीधा सम्पर्कमा रहने हुनाले यी संस्थाहरु अपराधिक तत्वहरुका लागि सजिलो लक्ष्य बन्न सक्छन् । 

सम्पत्ती शुद्धीकरण (एएमएल): यो आपराधिक गतिविधिबाट प्राप्त आयलाई कानुनी रुपमा स्वच्छ बनाउने प्रक्रिया हो । उदाहरणका लागि कर छली, भ्रष्टाचार, अवैध ओसारपसार, कालोबजारी, मानव बेचबिखन, धोखाधडी इत्यादी कसुरजन्य कार्य गरी प्राप्त आयलाई बैंक वित्तीय संस्था र गैर वित्तीय पेशाकर्मी तथा व्यवसायीको माध्यामवाट आयको अवैध स्रोतलाई लुकाउने तथा वैधजस्तो बनाउने प्रयास ।

आतंकवादमा वित्तीय लगानी निवारण (सिएफटी): यसले विभिन्न आतंकवादी समूहहरुलाई वित्तीय सहयोग प्रवाह गर्ने कार्यलाई जनाउँछ । यसरी आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी वैध तथा अवैध दुवै स्रोतबाट प्राप्त भएको आय हुनसक्छ । यी गतिविधिहरु राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि गम्भीर चुनौतीहरु हुन् ।

वर्तमान अवस्थाः हाल लघुवित्त सँगसँगै सिंगो बैंक वित्त क्षेत्रमा वित्तीय अराजकता मौलाउँदै गएको अवस्था रहेको छ । लघुवित्तमा यस्तो हुनुमा सदस्य दोहोरोपना, अत्याधिक ऋणभार, संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धा, सदस्यहरुमा उद्यमशीलताको कमी, कर्जा दुरुपयोग, सदस्यमा वित्तीय चेतनाको अभाव लगायतका समस्या छन् । सँगसँगै सदस्य र कर्मचारीहरु संलग्न वित्तीय अपराधका घटनाहरु पनि बढ्दै गइरहेका छन् । यो सन्दर्भमा लघुवित्त संस्थाहरुले ग्राहक पहिचान, लक्षित वर्ग पहिचान, शंकास्पद कारोवार अनुगमन, वास्तविक धनी पहिचान, उच्च पदस्थ व्यक्ति पहिचान, ऋण विश्लेषण, सदुपयोगीता आदि विषयहरुको प्रभावकारी मूंल्याकन गर्न नसक्दा सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तपोषणको ठूलो जोखिम रहेको छ ।

त्यसैगरी लघुवित्तमा आवद्ध सदस्यहरुका परिवारका सदस्यहरुले वित्तीय साक्षरताको अभावमा विदेशबाट पैसा पठाउँदा औपचारिक विप्रेषण सेवा प्रदायकको प्रयोग नगरी हुण्डीमार्फत रकम पठाउँदा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्पत्ती शुद्धीकरणलाई टेवा मिलिरहेको छ । सामाजिक सञ्जाल तथा डिजिटल माध्यामहरुको व्यापक प्रयोग हुँदै जाँदा तुलनात्मक रुपमा वित्तीय सचेतना न्युन हुने लघुवित्तका ग्राहकहरु पनि विभिन्न धोकाधडी तथा अनलाईन ठगीका घटनाहरुमा पर्ने गरेका छन् ।

लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएर लक्षित परियोजनामा उपयोग नगरी उच्च ब्याजको लोभमा मिटरव्याजमा लगाउने, ढुकुटी खेलाउने, लोभलालचमा परी कर्जा लिएर हाइपर फण्ड तथा क्रिप्टोकरेन्सीमा लगानी गर्नेदेखि लिएर निर्वाचनको समयमा लघुवित्तबाट लगेको कर्जा घुमीफिरी राजनीतिक व्यक्तिको हातमा पुगी चुनाव लड्नमा समेत उपयोग भएको बेलाबेलामा सुन्न सकिन्छ ।

त्यसैले एकातर्फ लघुवित्तबाट कर्जा निकालेर सजिलै विभिन्न गैर कानुनी गतिविधि तथा आतंकवादी क्रियाकलापमा समेत रकम उपयोग हुनसक्ने जोखिम रहेको छ भने अर्कोतर्फ कालोधन एकीकृत गरी ऋणको किस्ता तिर्न प्रयोग गरी सम्पत्ति शुद्धीकरण हुनसक्ने जोखिम रहेको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशनः नेपाल राष्ट्र बैंकवाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनमा संस्थामा सम्पत्ती शुद्धीकरण अनुगमन समिति गठन गरी हरेक तीन महिनामा बैठक बस्नुपर्ने, आर्थिक वर्ष समाप्त भएको पहिलो त्रयमासभित्र जोखिम मूल्यांकन प्रतिवेदन पठाउनुपर्ने, सञ्चालक तथा कर्मचारीलाई आचारसंहिता जारी गर्नुपर्ने, नीति तथा कार्यविधि वनाउनुपर्ने, ग्राहक पहिचान तथा सम्पुष्टी गर्नुपर्ने, सूचीकृत व्यक्तिको पहिचान गर्नुपर्ने, उच्चपदस्थ व्यक्तिको पहिचान गर्नुपर्ने, वास्तविक धनीको पहिचान गर्नुपर्ने, सरलीकृत तथा बृह्त ग्राहक पहिचान सम्वन्धी व्यवस्था गर्नुपर्ने, रेमिट्यान्स कारोवारमा ग्राहक तथा वास्तविक धनी पहिचान गर्नुपर्ने, जोखिम व्यवस्थापन गर्नुपर्ने, सीमा कारोवार विवरण तथा शंकास्पद कारोवार÷गतिविधि प्रतिवेदन वित्तीय जानकारी एकाईमा पठाउनुपर्ने, आन्तरिक नियन्त्रण प्रणाली सम्वन्धी व्यवस्था कार्यान्वयन गनुपर्ने र यी व्यवस्थाहरु कार्यान्वयन नगरेमा रू १० लाख देखि गाम्भीर्यताको आधारमा रू ५ करोड सम्म कारवाहीको व्यवस्था गरेको छ ।

हालैमात्र नेपाल सरकारवाट सम्पत्ती शुद्धीकरण तथा आतंकवादमा वित्तीय लगानी निवारण विनियमावली, २०८१ जारी भएको छ भने नेपाल राष्ट्र बैंकले सो अनुसारका थप व्यवस्थाहरुलाई पनि परिपत्रमार्फत लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरीसकेको छ ।

मुख्यतः थप व्यवस्थाहरुमा लघुवित्त वित्तीय संस्थाहरुले २०८१ माघ १ गतेदेखि नयाँ खोलिने खाताहरुमा राष्ट्रिय परिचयपत्र नं अनिवार्य रुपमा लिनुपर्ने, संस्थामा आवद्ध रहेका उच्चपदस्थ तथा सम्वद्ध व्यक्तिहरुको राष्ट्रिय परिचयपत्र नं अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने, सूचीकृत व्यक्ति, समूह, संगठन वा सो सम्वद्ध व्यक्तिहरुको खाता भएमा खाता रोक्का राखी सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा र वित्तीय जानकारी एकाईमा जानकारी गराउनुपर्ने, कार्यान्वयन अधिकारीको नियुक्ति तथा शंकास्पद कारोवार विवरण पठाउने विषयमा व्यवस्थाहरु आदि जारी गरिसकेको छ । 

परिपालनाको अवस्थाः वित्तीय जानकारी एकाईले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा वर्ष २०२३ मा लघुवित्त वित्तीय संस्थाका जम्मा रू २२ लाख रकमका २४ वटा शंकास्पद कारोवार/गतिविधि रिर्पोट भएका थिए भने २,१७९ वटा सीमा कारोवार रिर्पोट भएका थिए । लघुवित्त वित्तीय संस्थाहरुले ऐनले तोकेका तथा नेपाल राष्ट्र बैंकले निर्देशन गरेका विषयहरुमा परिपालनाको अवस्था सन्तोषजनक भएपनि त्यसको प्रभावकारितामा शंका गर्न सकिने ठाउँ रहेको पाउन सकिन्छ । वास्तविक धनी पहिचान तथा उच्च पदस्थ व्यक्ति पहिचान गर्ने संयन्त्रको विकास पर्याप्त रुपमा भएको छैन ।

ग्राहक पहिचान नीति तथा सम्पत्ति शुद्धिकरण निवारण नीति निर्माण भएपनि लघुवित्त वित्तीय संस्थाहरुले सम्पत्ति शुद्धिकरण सम्वन्धि जोखिमलाई गम्भिरतापूर्वक ग्रहण नगरेको पाउन सकिन्छ । शंकास्पद गतिविधि/कारोवार पहिचान गर्न, ग्राहकसँगको कारोवारमा Red Flags हरु पहिचान गर्न, ग्राहकले कारोवार गर्नुको पछाडिको मनसाय थाहा पाउन, कर्जा लिएको ग्राहकले सही उद्देश्यमा स्वयंले कर्जा उपयोग गर्ने हो कि हैन इत्यादि कुराहरुको सही पूर्वआंकलन गर्न सक्ने जनशक्ति विकास भएको छैन ।

जोखिम वर्गीकरण गरी उच्च जोखिममा रहेका ग्राहकको वृहत ग्राहक पहिचान प्रक्रिया गरेर मात्र निजहरुसँग व्यवसायिक सम्वन्ध स्थापना गर्ने व्यवस्था प्रभावकारी भएको पाइदैन । सक्रिय रुपमा जोखिम पहिचान गर्ने, मूल्यांकन गर्ने तथा न्यूनीकरण गर्ने संयन्त्रको विकास पर्याप्त रुपमा भएको छैन जसले गर्दा संस्थामा वित्तीय सुशासन कायम गर्न हम्मेहम्मे परेको छ भने कर्जा दुरुपयोगका घटना बढ्दै जाँदा संस्थाहरुको निष्क्रिय कर्जा समेत बढ्दै गइरहेको छ ।

चुनौतिहरुः नेपालका लघुवित्त संस्थाहरुमा एएमएल/सिएफटि जोखिमको प्रभावकारी रुपमा व्यवस्थापन गर्नका लागि देहाय वमोजिमका चुनौतिहरु रहेका छन् ।

क) ग्रामीण तथा अनौपचारिक क्षेत्रमा काम गर्ने भएकाले ग्राहकका सम्पूर्ण पहिचानका दस्तावेजहरु जस्तै वास्तविक पहिचान, आयस्रोत र कारोवारको उद्देश्य प्रमाणित गर्ने कायजातहरु संकलन गर्न कठिनाई,

ख) लघुवित्तको अधिकांश कारोवारहरु नगदमा आधारित हुने हुनाले यसमा पारदर्शिता कम र शंकास्पद गतिविधि तथा कारोवारहरु ट्रयाक गर्न कठिनाई,

ग) संस्थामा कार्यरत कर्मचारी पनि यो विषयमा जागरुक नहुनु र संस्थाले पर्याप्त मात्रामा क्षमता अभिबृद्धिमा काम गर्न नसक्नु त्यसै गरी ग्राहकहरु पनि सम्पत्ति शुद्धिकरण सम्वन्धी नीति, नियम, कानुन तथा यसको परिणामवारे अनविज्ञ,

घ) असाधारण प्रकारका कारोवारहरु तथा शंकास्पद कारोवारहरु पहिचान तथा ग्राहक पहिचानमा प्रविधिको व्यापक प्रयोग हुन नसक्नु,

ङ) वित्तीय अपराध तथा बैंकिङ्ग कसुरका मुद्धालाई संस्थाको छवि विग्रिने नाममा दवाएर राख्ने प्रवृत्ति,

च) सामाजिक सञ्जालको व्यापक प्रयोग तथा फिनटेकको विकाससँगै निम्तिने भोकाधडीका घटनाहरुमा लघुवित्तका ग्राहकहरुलाई सचेत बनाउन कठिनाई ।

समाधानका उपायहरुः

क) ग्राहक पहिचान प्रक्रिया KYC/CDD लाई प्रभावकारी वनाउनेः ग्राहकको पहिचान प्रमाणित गर्ने प्रक्रियालाई डिजिटल प्रविधि जस्तै वायोमेट्रिक स्क्यान, डिजिटल सिग्नेचर मार्फत मजवुत वनाउने । ग्राहकहरुको जोखिम वर्गीकरण गरी उच्च जोखिम ग्राहकहरुका लागि वृहत ग्राहक पहिचान प्रक्रियाको प्रयोग गर्ने ।

ख) प्रविधिको लाभ लिनेः AI तथा Data Analytics जस्ता प्रविधिको प्रयोग गरी असाधारण प्रकृतिका तथा शंकास्पद कारोवार पत्ता लगाउने प्रणालीको विकास गर्ने । नगदमा हुने लेनदेनलाई घटाई डिजिटल कारोवारलाई वढावा दिने ।

ग) कर्मचारी तथा ग्राहक शिक्षाः एएमएल/सिएफटि सम्वन्धी प्रावधानहरुवारे कर्मचारीहरुलाई नियमित प्रशिक्षण तथा कार्यशाला गोष्ठीहरु आयोजना गर्ने । त्यसैगरी ग्राहकहरुलाई समुदायस्तरमा नै वित्तीय साक्षरता तथा सचेतना अभियान सञ्चालन गर्ने ।

घ) शंकास्पद कारोवार पहिचान तथा रिर्पोटिङ्गलाई प्रभावकारी वनाउने, उच्चपदस्थ तथा सम्वद्ध ग्राहकहरु र उच्च जोखिममा रहेका ग्राहकसंग कारोवार गर्दा वृहत ग्राहक पहिचान प्रणाली अवलम्वन गरी कारोवार गर्ने ।

ङ) प्रभावकारी रुपमा कर्जा सूचना केन्द्रसंग तथ्यांक आदानप्रदान गरी एकै व्यक्तिले एकै पटक धेरै वित्तीय संस्थावाट कर्जा नपाउने कुरालाई सुनिष्चित गर्ने ।

निष्कर्षः नेपालको आर्थिक विकासमा लघुवित्त वित्तीय संस्थाहरुको महत्वपूर्ण योगदान रहिआएको छ । लघुवित्तले विशेष गरी ग्रामीण तथा अर्धसहरी क्षेत्रमा रहेका गरिव, विपन्न तथा साना व्यवसायीहरुलाई घरदैलो सेवामार्फत विविध वित्तीय तथा गैर वित्तीय सेवा जस्तै ससाना बचत परिचालन गर्ने, उत्पादनशील क्षेत्रमा कर्जा परिचालन गर्ने, महिला वर्गको आर्थिक तथा सामाजिक सशक्तिकरण गर्ने, लघुवीमामार्फत साना व्यवसायीहरुको जोखिम व्यवस्थापन गर्न सहयोग गर्ने, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, बैंकको पहुँचबाट वाहिर रहेका वर्गलाई वित्तीय समावेशीकरण गर्ने क्षेत्रमा काम गरिरहेको छ । लघुवित्तमा एएमएल/सिएफटि जोखिमलाई वेलैमा नियन्त्रण गर्न नसकेमा भविष्यमा झन् ठूलो खतरा निम्तिन सक्ने देखिन्छ ।

कानुनी अनुपालना, प्रविधिको उपयोग र कर्मचारी तथा ग्राहक जागरुकताबाट नै यस क्षेत्रलाई सुरक्षित र दिगो वनाउन सकिन्छ । यि कुराहरुलाई ध्यानमा राखी काम गरे वित्तीय अपराधमुक्त समाज निर्माण गर्नका लागि लघुवित्त संस्थाहरुले ठूलो भुमिका खेल्न सक्छन् । यसको लागि नेपाल सरकार, नियामक निकाय नेपाल राष्ट्र बैंक तथा लघुवित्त संस्थाहरु मिलेर संयुक्त रुपमा एएमएल÷सिएफटि का नीतिहरु कार्यान्वयन गर्नुपर्छ ।