बैंकिङ खबर/ बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर मार्क कार्नीलाई क्यानडाको सत्तारूढ लिबरल पार्टीले नयाँ नेता चयन गरेको छ । यससँगै उनी देशका आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
उनले यस वर्षको सुरुवातमा पदबाट राजीनामा दिएका जस्टिन ट्रुडोको स्थान लिनेछन् । ५९ वर्षीय कार्नीले ८६ प्रतिशत सदस्यहरूको मत प्राप्त गरेका छन् ।
कुनै राजनीतिक पृष्ठभूमि नभएको व्यक्ति क्यानडाको प्रधानमन्त्री बन्न लागेको यो पहिलोपटक भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
राजनीतिमा नयाँ आएका कार्नीले पार्टीलाई पुनर्जीवित गर्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार वार्ता गर्न सबैभन्दा उपयुक्त व्यक्ति आफू भएको तर्क गरेका छन् ।
कार्नीले भनेका छन्, ‘जी–७ का दुई केन्द्रीय बैंकहरूको गभर्नरको रूपमा सेवा गर्ने पहिलो व्यक्ति भएको नाताले मेरो अनुभवले प्रमाणित गर्छ कि म ट्रम्पसँग व्यवहार गर्न सबैभन्दा सक्षम छु ।’
मार्क कार्नी को हुन् ?
मार्क कार्नीको जन्म क्यानडाको फोर्ट स्मिथ, नर्थवेस्ट टेरिटोरीजमा भएको थियो । उनले आफ्नो बाल्यकाल एडमन्टनमा बिताए । त्यसपछि, उनी अमेरिका गएका थिए र हार्बर्ड विश्वविद्यालयबाट अर्थशास्त्र अध्ययन गरे । पछि, उनी बेलायत गए र अक्सफोर्ड विश्वविद्यालयबाट पहिले मास्टर डिग्री तथा १९९५ मा अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरे ।
कार्नीलाई २००८ मा बैंक अफ क्यानडाको गभर्नर नियुक्त गरिएको थियो । उनको नेतृत्वलाई छिट्टै विश्वव्यापी रूपमा चिनिन थालियो । २०१० मा टाइम म्यागजिनले उनलाई विश्वका २५ सबैभन्दा प्रभावशाली नेताहरूको सूचीमा समावेश गर्यो ।
२०११ मा, रिडर्स डाइजेस्ट क्यानडाले उनलाई ‘सबैभन्दा भरपर्दो क्यानाडेली’ को उपाधि प्रदान गर्यो ।
२०१२ मा, युरोमनी म्यागजिनले उनलाई ‘सन् २०१२ को उत्कृष्ट केन्द्रीय बैंक गभर्नर’ घोषित गर्यो।
२०१३ मा, कार्नी बैंक अफ इङ्ल्याण्डका गभर्नर बने र संस्थाको ३०० वर्षको इतिहासमा यस पदमा पुग्ने पहिलो गैरब्रिटिश नागरिक बने ।
उनी २०२० सम्म सो पदमा रहे । हालका वर्षहरूमा, मार्क कार्नी संयुक्त राष्ट्रसंघको जलवायु कार्य तथा वित्तसम्बन्धी विशेष दूत र ब्रुकफिल्ड एसेट म्यानेजमेन्टको ट्रान्जिसन इन्भेस्टिङ प्रमुखका रूपमा कार्यरत थिए । तर, उनले यी पदहरूबाट राजीनामा दिएर क्यानडाको लिबरल पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने निर्णय गरेका थिए ।