बनेपा । चरम आर्थिक सङ्कटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । पाँच सय रुपैयाँका लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बनेकी छिन् । छिमेक लघुवित्त विकास बैंकको शनिबार बनेपामा भएको १२औँ एकाइ भेलामा आफ्नो सफलताको कारण सुनाउँदै उनले भनिन् – “आज मसँग एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति छ ।” परिवारमा समेत कुनै सहयोग नपाएर माइती पक्षका भाइ र बुबाको हस्ताक्षरमा ऋण लिएर व्यवसाय सुरु गरेकी श्रेष्ठले भनिन् – “पहिले मेरो श्रीमानले पनि वास्ता गर्नुभएन तर अहिले सबै कुरामा सहयोग गर्नुभएको छ ।” अहिले पसल पनि चलाएको छु र १८ आना जग्गा पनि किनेको छु – श्रेष्ठले भनिन् । उनले सो विकास बैंकबाट सुरुमा १५ हजार रुपैयाँ, त्यसपछि २० हजार रुपैयाँ र क्रमशः लाखौँ कर्जा लिएर व्यवसाय सुरु गरेपछि उनको जीवनमा सो परिवर्तन आएको हो ।
उनीजस्तै एक किलो गहुँको पिढोले छाक टारेकी धुलिखेल नगरपालिका–६ की सुमित्रा बानियाँ अहिले लखपति भएकी छिन् । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने चरम दुःख पाएकी उनले भनिन् – “कैयौँ रात त भोकै पनि बसियो ।” बानियाँले ऋण लिएको रकम सदुपयोग गर्न सुझाव दिँदै जीवनमा ठूलो आर्थिक परिवर्तन भएको सुनाइन् ।
पनौतीकी लक्ष्मी सापकोटाले यो लघुवित्तले दुःख पीडा भुलाउने काम गरेको उल्लेख गर्दै अहिले आफूसँग गाडी र जग्गा समेत भएको बताइन् ।
छिमेक लघुवित्त विकास बैकले स्थापनाकालदेखि नै महिलाको आर्थिक जीवनसँग जोडेर कार्यक्रम सञ्चालन गरिरहेको छिमेक लघुवित्त विकास बैंकका अध्यक्ष भुवनेश्वरी पन्तले बताए । बैंकका कार्यकारी निर्देशक रामचन्द्र जोशीले लघुवित्त विकास बैंकले २० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जानकारी दिँदै ब्याज घटाउने विषयमा छलफल भइरहेको बताए । त्यस्तै, बैंकका नायब महाप्रन्बधक शोभा मिश्रले बैंकका कारण महिलाको आर्थिक सशक्तीकरणसँगै नेतृत्व विकास पनि भएको बताइन् । छिमेक लघुवित्त विकास बैंक बनेपाका प्रबन्धक रामकृष्ण पाण्डेले महिलालाई लक्षित गरेर कृषि, पशुपालनलगायतका क्षेत्रमा लगानी भएको बताए ।
सो अवसरमा उत्कृष्ट काम गरेबापत पहिलोलाई चार हजार रुपैयाँ, दोस्रोलाई तीन हजार रुपैयाँ, तेस्रोलाई दुई हजार रुपैयाँ, चौथोदेखि छैठौँलाई एक हजार रुपैयाँ र सातौँदेखि दशौँलाई पाँच सय रुपैयाँका दरले पुरष्कृत गरिएको थियो भने १० समूहका विपन्न सदस्यका छोराछोरीलाई पढाउनका लागि दुई हजार चार सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । रासस
फोटो : इन्टरनेट