नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले राफसाफ बैंक थप गर्ने कार्यलाई अघि बढाएको जनाएको छ । धितोपत्र कारोबारपश्चात् राफसाफ तथा फछ्र्यौटलाई थप चुस्त बनाउन राफसाफ बैंक थप गर्ने कार्यलाईै अघि बढाइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिएका हुन् । यसका लागि नेप्सेको सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेडले आफ्नो सिस्टममा आवश्यक सुधारको कार्य सम्पन्न गरिसकेको छ । सिडिएससीका अनुसार, सिस्टम भेन्डरको रुपमा रहेको भारतीय कम्पनी टीसीएसले सुधार कार्य सम्पन्न गराई सकेको छ । सुधार गरिएको उक्त सिस्टम हाल परीक्षणको क्रममा रहेको बताइएको छ ।
त्यस्तै, धितोपत्रको दोस्रो बजार विस्तारका लागि नेपाल धितोपत्र बोर्डको निर्देशनमा पुँजी बजार सम्बद्ध सरोकारवालाहरुको प्रतिनिधित्व हुने गरी गठन गरिएको कार्यदलले सदस्य दलालको संख्या थप गर्ने, राष्ट्रिय स्तरका बैंकलाई धितोपत्र दलाल अनुमति प्रदान गर्ने, विद्यमान सदस्य दलालहरुको रिस्क वार्निङ स्टेटमेन्ट (आरडब्लुएस) विस्तार गर्ने लगायतका उपायहरुको खोजी गर्ने कार्य अघि बढाइरहेको छ । साथमा समितिले उक्त कार्यहरुको व्यवहारिक कार्यान्वयनका लागि सुझाव पेस गर्ने गरी अध्ययन कार्य समेत तीव्र रुपमा अघि बढाइरहेको छ । उक्त कार्यदलले अध्ययन कार्य अन्तिम चरणमा पुगेको र यसै साता आफ्नो प्रतिवेदन पेस गर्ने तयारी भइरहेको जनाएको छ ।
त्यसैगरी, सेयरको नियमित कारोबारमा बजार मूल्य प्रभावित नहुने गरी १० कित्ताभन्दा कमको समेत किनबेच हुन सक्ने व्यवस्था व्यवस्था मिलाउनका लागि नेप्सेले सिस्टम निर्माता कम्पनी Comdaq को स्थानीय प्रतिनिधि वाईसीओ (YCO) प्रालिलाई निर्देशन दिइसकेको छ । यता, YCO ले अबको एक महिनाभित्रमा उक्त कार्य सम्पन्न गरी परीक्षणमा जान सकिने जानकारी गराएको छ ।


