Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

टुरिजम डेभलपमेन्ट बैंकले यसरी पुर्याउँदैछ अढाई अर्ब चुक्तापुँजी

२०७३ मंसिर २४ गते

tourismटुरिजम डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक हो । राष्ट्र बैंकको निर्देशनअनुसार, यस बैंकले आगामी असार मसान्तसम्ममा अढाई अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ । हाल यस बैंकको चुक्तापुँजी ७८ करोड रुपैयाँ छ । बैंकले एक्विजिसन, हकप्रद सेयर र बोनस सेयरमार्फत पुँजी पुर्याउने जनाएको छ ।  

बैंकले झन्डै पाँच करोड रुपैयाँ चुक्तापुँजी भएको मातृभूमि विकास बैंक र १० करोड रुपैयाँ चुक्तापुँजी भएको कालिञ्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ति(एक्वायर) गर्दैछ । यी दुई संस्थालाई प्राप्तिका सबै प्रक्रिया पूरा गरी बैंकले असोज ५ गते अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन पेश गरिसकेको छ । दुई साना विकास बैंकलाई एक्वायर गरेपछि टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापूँजी ९१ करोड ९७ लाख ७१ हजार २ सय रुपैयाँ पुगेको छ । 

यी दुई संस्थालाई एक्वायर गरेपछि कायम हुन आउने पूँजीको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमो हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि बैंकले एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । हकप्रद निष्काशनपछि बैंकको चुक्तापूँजी १ अर्ब ८४ करोडको हाराहारीमा पुग्नेछ । 

बाँकी अपुग पूँजी थप गर्नका लागि बैंकले १९.८ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ । बैंकले हाल कायम चुक्तापुँजी ७८ करोड रुपैयाँको १९.८ प्रतिशतले हुन आउने १४ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो । बोनस सेयर, एक्विजिसन र हकप्रद सेयर पछि बैंकको चुक्तापुँजी एक अर्ब ९९ करोड ४४ लाख रुपैयाँ पुग्नेछ । बाँकी पुँजी वृद्धिका लागि बैंकले अन्य वित्तीय संस्थासँग मर्जरमा जाने विकल्प पनि खुला राखेको छ ।