हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले आफ्ना केही विभागहरुको नेतृत्वमा हेरफेर गर्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
राष्ट्र बैंकको विभागीय प्रमुखमा हेरफेर
नेपाल राष्ट्र बैंकले आफ्ना केही विभागहरुका प्रमुखहरु हेरफेर गर्यो । जसअनुसार, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका नारायण पौडेल नियमन विभाग प्रमुखमा नियुक्त भएका छन् । बैंक सुपरिवेक्षण विभागको प्रमुखमा भने राष्ट्र बैंकले महेश्वरलाल श्रेष्ठलाई नियुक्त गरेको छ । त्यस्तै, शिवनाथ पाण्डेलाई जनशक्ति विभागमा सारिएको छ । यता, वासुदेव अधिकारी आन्तरिक लेखा विभागमा पुगेका छन् ।
हकप्रद र एफपिओ निष्काशनमा शर्त
नेपाल धितोपत्र बोर्डले बैंकिङ, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्था बाहेकका अन्य संगठित संस्थाहरुलाई हकप्रद तथा थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्न शर्त तथा मापदण्डहरु तोकेको छ ।
- हकप्रद शेयर वा फर्दर पव्लिक इस्यू सम्बन्धमा साथै उक्त निष्काशनबाट प्राप्त हुने कूल रकमको उपयोग सम्वन्धमा स्पष्ट वित्तीय योजना तथा रणनीतिहरु साधारण सभाबाट पारित गराएको हुनुपर्ने,
- हकप्रद निष्काशन अनुपातको औचित्य पुष्टि गर्ने आधारहरु प्रष्ट हुनुपर्ने,
- प्राथमिक निष्काशन गरेको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्ने,
- नियमानुसार क्रेडिट रेटिङ्ग गरेको हुनुपर्ने,
- जारी पूँजी शतप्रतिशत चुक्ता भैसकेको हुनुपर्ने,
- प्रचलित कानून अनुसार परियोजना निर्माणको लागि कुनै निकायबाट इजाजत, अनुमतिवा स्वीकृति लिनुपर्ने भएमा त्यस्तो इजाजत, अनुमतिपत्र वा स्वीकृति लिइसकेको हुनुपर्ने,
- परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजरको सैद्धान्तिक सहमतिपत्र प्राप्त गरिसकेको हुनुपर्ने,
- हकप्रद निष्काशन वा फर्दर पव्लिक इस्यूको सार्वजनिक सूचना प्रकाशित गर्नु भन्दा कम्तीमा ५ कार्य दिन अगाडि परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर भएको जानकारी गराई बोर्डको स्वीकृति लिएर मात्रै दरखास्त खुल्ला गरिएको सूचना प्रकाशित गर्नु पर्ने ।
एनसीसीलाई मर्जरको अनुमति
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले अन्य चार बैंकलाई गाभ्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाएको छ । एनसीसी बैंकलाई इन्टरनेसनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेण्ट बैंक, इन्फ्रास्टक्चर डेभलपमेण्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकलाई गाभेर नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका नाममा कारोबार गर्न नेपाल राष्ट्र बैंकको आइतबारको बोर्ड बैठकले अनुमति दिएको हो ।
माछापुछ्रे बैंकको हकप्रद खुला
माछापुछ्रे बैंक लिमिटेडले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ९३ करोड २२ हजार ७ सय रुपैयाँ बराबरको एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कात्तिक ११ गते कायम बैंकका सेयरधनीले मंसिर १९ गतेबाट पुष २४ गतेसम्ममा हकप्रद भर्न सक्नेछन् । बैंकको हकप्रदमा मंसिर १९ गतेदेखि पुष २४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । सेयरधानीले सिभिल क्यापिटल कमलादी तथा माछापुछ्रे बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् ।
सेवा विकास बैंकको हकप्रद खुला
सेवा विकास बैंक लिमिटेडले एक बराबर एक दशमलव दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो । बैंकले एक सय रुपैयाँ अंकित दरमा ५१ करोड छ लाख ६६ हजार दुई सय रुपैयाँ बराबरको ५१ लाख छ हजार छ सय ६२ कित्ता सेयर निष्काशन गरेको हो । विहीबार (मंसिर २३ गते) देखि निष्काशन खुला गरिएको हकप्रद सेयरमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । असोज १८ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । एनएमबि क्यापिटल लिमिटेड (काठमाडौँ, नागपोखरी), सेवा विकास बैंक र शाखा कार्यालयहरु र एनएमबि बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत हकप्रद भर्न पाइनेछ ।
नागबेली लघुवित्तको हकप्रद खुला
नागवेली लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गर्यो । बैंकले १०० रुपैयाँ अंकित दरका १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । सोमबार (मंसिर २० गते) बाट निष्काशन खुला गरिएको सेयरमा पुस २४ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बैंकले चुक्ता पूँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो । उक्त हकप्रदको अन्तिम म्याद पुस २४ गतेसम्म मात्र रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकलाई ‘बैंक अफ द इयर’ अवार्ड
नेपाल इन्भेष्टमेन्ट बैंक सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड जित्यो । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो बर्षको सर्बोत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो । यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जितेको हो । बिहिबार बिहान लन्डनमा आयोजित समारोहमा बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले अवार्ड लिए ।
नेपाल क्लियरिङ हाउससँग सम्झौता
एनआईसी एशिया बैंकले सोमबारदेखि आफ्नो इन्टरनेट बैंकिङ्गमार्फत नेपाल क्लियरिङ हाउस लिमिटेडको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS सेवा समेत प्रदान गरि सेवा विस्तार गर्यो । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र यती डेभलपमेण्ट बैंक लिमिटेडबिच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता भयो । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र हाम्रो विकास बैंक लिमिटेडबीच विद्युतीय चेक क्लियरिङ्ग प्रणाली(NCHL-ECC) सेवा सम्बन्धि सम्झौता भयो ।
बोनस सेयर
भार्गव विकास बैंकले २० प्रतिशत र मनास्लु विकास बैंकले १८ प्रतिशत बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकको स्वीकृती पाए । फेवा विकास बैंकले पनि २०.६० प्रतिशत बोनस सेयर जारी गर्न राष्ट्र बैंकबाट स्वीकृती पायो । त्यस्तै, काष्टमण्डप डेभलपमेन्ट बैंकले पनि २३.३७ बोनस सेयर जारी गर्न राष्ट्र बैंकबाट अनुमति पायो । ज्योति विकास बैंक लिमिटेडले ११.७० प्रतिशत बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पायो । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव कम्पनीको चौथो वार्षिक साधारणसभाबाट पारित भयो ।
हकप्रद सेयर
ज्योति विकास बैंकले ११.७० प्रतिशत हकप्रद जारी गरेपछि कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकबाट अनुमति पायो । रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव आइतबार सम्पन्न चौथो साधारणसभाबाट पारित भयो । सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद निष्काशनका लागि विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गर्यो ।
नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बुधबार २५ करोड रुपैयाँको रिभर्स रिपो जारी गर्यो । त्यस्तै, राष्ट्र बैंकले सोमबार २१३ करोड रुपैयाँको ट्रेजरी बिल पनि विक्री गर्यो ।
अन्य
टुरिजम डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुका लागि उच्च प्रतिफल प्रदान गर्ने गरी “१९९ दिने स्वर्णिम मुद्दती निक्षेप” योजना ल्यायो । त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक र कर्मचारीहरुको निवृत्तिभरण(पेन्सन) भुक्तानी गर्ने सम्बधमा आइतबार राष्ट्रिय वाणिज्य बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता भयो । नेपाल पर्यटन बोर्डले अमेरिकन एक्सप्रेस र हिमालयन बैंक लिमिटेडसँगको सहकार्यमा विश्वव्यापी पर्यटन अभियान सुरु गर्यो । आईएमई लिमिटेड र अक्सिजन सर्भिस इण्डिया प्रा.लि बीच औपचारिक रेमिटन्स सेवा सुरु भयो । मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेडद्धारा आयोजित मेक्स फाइनान्सियल क्युज क्वेस्ट (एमएफक्युक्यु) प्रतियोगितामा स्कुल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वबिद्यालय प्रथम र एपेक्स कलेज द्धितीय भए । पुरस्कार स्वरुप प्रथम हुनेले ५० हजार र द्धितीयले २५ हजार रुपैयाँ नगद पाए ।




