Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जहाँ सम्पति पनि ‘टुहुरो’ भएको छ, हेर्नुस् जयललिताको सम्पति कहानी 

२०७३ मंसिर २३ गते

मानिसले आफु बाँच्ने क्रममा केही सम्पति पनि कमाउँछ । कतिले थोरै कमाउँछन्, कतिले धेरै कमाउँछन् । तर जसले जति कमाए पनि लिएर कोहि जाँदैनन् । सबै खाली हात नै जाने हुन् । सन्तान वा आफन्त हुनेका सन्तान वा तिनै आफन्तले खान्छन् भने सन्तान नहुनेको सम्पति अरु कसैले प्रक्रिया पुर्याएर लिन्छ वा भोगचलन गर्छ । 
अर्को चाखलाग्दो कुरा के छ भने सन्तान नभएको कुनै गरीबको मृत्यु भयो भने मृत्यपछि उसको सम्पतिबारे त्यति धेरै बहस हुँदैन किनभने बहसका लागि उसँग त्यति धेरै सम्पति हुँदैन । तर अलि बढी सम्पति भएका तर उत्तराधिकारी नभएका व्यक्तिको मृत्यपछि त्यसबारे बहस चुलिन्छ । त्यस्तै एउटा घट्ना भएको छ भारतको तमिलनाडु राज्यमा । त्यो पनि त्यहाँ मुख्यमन्त्री समेत रहिसकेकी चर्चित नेतृ स्वर्गीय जय ललिताको सम्पतिको बारेमा । 
भारत तमिलनाडुकी मुख्यमन्त्री रहेकी ६८ वर्षीया जयललिता आफ्ना लाखौँ समर्थक र एआइएडिएमके पार्टीलाई छाडेर स्वर्गीय भइसकेकी छन् । उनको शेखपछि अब त्यहाँका आम र खास मानिसमा जयललिताको सम्पतिको विषयमा खुब चर्चा भईरहेको हो । सबै मानिसमा एउटै कुराको कौतुहुलता छ कि अब जयललिताको सम्पति कसले भोग गर्छ ? यद्यपी कानूनी रुपमा उनको उत्तराधिकारी कोहि छ वा छैन भन्नेबारे भने पुष्टि हुन बाँकी छ । त्यसैले पनि उनको सम्पति कसले पाउँछ भन्ने विषयमा चर्चा चुलिएको हो ।

बहस : ११३ करोड सम्पतिको 

jaya-lalita


सन् २०१६ को विधानसभा निर्वाचनका क्रममा जयललिता चेन्नइका डा. राधाकृष्णन नगर विधानसभा क्षेत्रबाट चुनाव लडेकी थिइन् । विधानसभा निर्वाचनका क्रममा देखाइएको सम्पति विवरणअनुसार जयललिताको कुल सम्पतिको मूल्य ११३ करोड रुपैयाँ थियो ।
 

नगद
विवरण अनुसार जयललितासँग सम्पति विवरण भर्दै गर्दा ४१ हजार रुपैयाँ क्याश थियो । यसबाहेक बैंक खातामा दस करोड ६३ लाख रुपैयाँ जम्मा थियो ।
 

ऋणपत्र र सेयरको लगानी
जयललिताको सम्पतिमध्ये २७ करोड रुपैयाँभन्दा बढी ऋणपत्र र विभिन्न कम्पनीहरुको सेयर थियो । खास कुरा यो छ कि जयललिताले आफ्नो बीमा गराएकी थिइनन् र न कुनै दोश्रो किसिमको बीमा नै उनले गराएकी थिइन् ।
 

सवारी साधन 
चलससम्पतिमा जयललितासँग दुई वटा टोयटा प्राडो एसएयूवी, एउटा कन्टेसा, एक एम्बेसडर, महिन्द्रा बोलेरो र महिन्द्रा जीपसहित जम्मा नौ वटा गाडीहरु थिए, जसको बजार मूल्य करीब ४२ लाख रुपैयाँ रहेको बताइएको छ ।
 

आभूषण
जयललितासँग केही गरगहना पनि थिए, यससम्बन्धी जानकारी पनि उनले सम्पति विवरणमा उल्लेख गरेकी थिइन् । जसअनुसार जयललितासँग करीब २१ किलो सुन थियो, जुन कर्नाटकको राजस्व विभागले कब्जा गरेको थियो । यसबाहेक जयललितासँग १२५० किलो चाँदीका गहनाहरु थिए, जसको बजार मूल्य ३ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ । यसर्थ जयललिताको जम्मा ४१ करोड रुपैयाँभन्दा बढी चल सम्पति छ ।

jweleries-jayalalita

बैंक खाता 
अर्को चाखलाग्दो कुरा यो छ कि जयललिताको कुल २५ वटा बैंक खाताहरु थिए । ती खातामा आयबाट बढी सम्पति जम्मा गरेको सम्बन्धी ममिलामा जयललिताको सात एकाण्ट फ्रिज गरिसकिएको छ ।
जयललिताको ६ बैंक खातामा एक–एक करोडभन्दा बढी रकम छ भने अन्य दुई खातामा ९९–९९ लाखभन्दा बढी रकम छ ।
 

अचल सम्पति 
अचल सम्पतिको हिसाब गर्ने हो भने जयललिता पोएस गार्डेनमा बसिरहेकी थिइन् । यो उनको आफ्नै निवास हो जो करिब २४ हजार वर्गफीटमा फैलिएको छ । यसको बिल्टअप एरिया २१ हजार वर्गफीटभन्दा केहि बढी छ । यसको बजार मूल्य लगभग ४४ करोड रुपैयाँ रहेको बताइएको छ ।
सो घर जयललिताले आफ्नी आमासँग सन् १९६७ मा करिब एक लाख ३२ हजार रुपैयाँमा किनेकी थिइन् ।

jayalalitha

 

भाडामा लगाइएका भवन
आफु बस्ने घरबाहेक जयललिताको अचल सम्पतिमा चार भवनहरु भाडामा लगाइएका छन् । ती भवन सबै मिलाएर १३ करोड रुपैयाँभन्दा बढी अड्कल गरिएको छ ।
 

कुल सम्पति
 त्यसबाहेक खेतीको नाममा जयललितासँग लगभग १५ एकडको एक प्लट तेलंगानाको हैदराबादमा छ, जसको मूल्य करिब १५ करोड अड्कल गरिएको छ । यो प्लट पनि जयललिताले आफ्नी आमासँग नै १९६८ मा किनेकी थिइन् । जयललिताको नाममा तमिलनाडुको कान्चीपुरम जिल्लामा लगभग चार एकडको प्लट पनि छ, जसको बजार मूल्य ३४ लाखभन्दा बढी छ । जयललिताको जम्मा अचल सम्पति लगभग ७२ करोड रुपैयाँको छ । चल र अचल सम्पति मिलाएर जयललिताको कुल सम्पति ११३ करोडभन्दा बढी हुन्छ ।
 

पेशा : 'कृषक' 
खास कुरा त अर्को पनि छ कि जयललिताले चुनावी विवरणमा आफ्नो पेशा कृषि भएको उल्लेख गरेकी छन् ।

jayalalitha-1


जयललितामाथिको कर्जा 
त्यसो त जयललितामाथि २.०४ करोड रुपैयाँको कर्जा पनि छ । उनले यो कर्जा इन्डियन बैंकबाट लिएकी थिइन् । जयललिताले बैंकबाट कुल १.३९ करोड रुपैयाँको कर्जा लिएकी थिइन्, जुन कर्जा निर्वाचन लड्ने समयसम्म २.०४ करोड रुपैयाँ भइसकेको थियो । बीबीसी तमिल सेवाका अनुसार जयललिताको कोही उत्तराधिकारी थिए वा थिएनन् भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन । त्यसैले पनि  सबैभन्दा ठूला प्रश्न यो छ कि जयललिताको सम्पतिमा अब कसको हक हुन्छ ? उनको उत्तराधिकारीका रुपमा शशिकलालाई ठानिएपनि कानूनी रुपमा शशिकला र उनको परिवार पनि जयललिताको सम्पतिमा आफ्नो दाबी राख्न सक्दैनन् । यसर्थ जयललिताको सम्पति पनि 'टुहुरो' भएको जस्तो देखिएको छ ।