विहीबार (मंसिर २३ गते) देखि निष्काशन खुला गरिएको हकप्रद सेयरमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । असोज १८ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । एनएमबि क्यापिटल लिमिटेड (काठमाडौँ, नागपोखरी), सेवा विकास बैंक र शाखा कार्यालयहरु र एनएमबि बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत हकप्रद भर्न पाइनेछ ।
हाल सेवा विकास बैंकको चुक्तापुँजी ४२ करोड ५५ लाख ५५ हजार दुई सय रुपैयाँ रहेको छ । १ बराबर १.२ को अनुपातमा हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ९३ करोड ६२ लाख २१ हजार चार सय रुपैयाँ पुग्नेछ ।
उक्त हकप्रद निष्काशनका लागि बैंकले गत असोज छ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । बैंकको गत जेठ १८ गते सम्पन्न विशेष साधारणसभाले उक्त हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
रुपन्देही जिल्लाको बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंक १० जिल्ला कार्यक्षेत्र भएको विकास बैंक हो ।