December 7th, 2016

लोडसेडिङ हटाउने कुलमानमाथि चौतर्फी ‘घेराबन्दी’ : बर्खास्त गर्नेदेखि सरुवा गर्ने धम्कीसम्म

यतिबेला चियापसलदेखि बाटो र कार्यालयसम्म एउटा कुरा खुब चर्चामा छ– ‘अलिकति व्यवस्थापन मिलाएको भए धेरै पहिलादेखि नै लोडसेडिङ हट्ने रहेछ नि !’ मतलव नागरिकमा एउटा कुरा के पर्दाफास भएको छ भने यहाँ केही ‘विजुली माफिया’हरुको चलखेलमा लोडसेडिङ अन्त्य हुन नसकेको हो । यसको पुष्टि तबमात्र भयो, जब नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भए र उनले ‘अपरेसन’ सुरु गरे ।
 
kulman-1कुलमान नियुक्त भएलगत्तै उनले राजधानीलाई साबिकको तुलनामा धेरैबेर उज्यालो पारिदिएका छन् । दैनिक १६ घण्टा सम्म लोडसेडिङ खेपेका राजधानीबासीलाई अहिले घरिघरि एकआदि घण्टामात्र विजुली जाँदा खासै फरक पर्दैन । त्यसैले पनि यतिबेला कुलमान घिसिङ चर्चाका पात्र बनेका छन् । लोडसेडिङ अन्त्य गर्ने नारा लगाएर कति सरकार बने, ढले । तर विद्युत प्राधिरणको प्रमुख भएर आएको दुई महिनामै राजधानी झलमल्ल पारेर कुलमानले राजधानीबासीको मनमात्रै जितेका छैनन्, राजनीतिक दललाई पनि तिखो प्रहार गरेका छन्– ‘कुरामात्रै गर्नु र काम गर्नुमा फरक छ ।’ 
 
यसअघि दशै तिहारमा नेपालको उद्योग धन्दा कलकारखाना बन्द भएको बेला मात्रै लोडसेडिङ नहुने गरेको थियो तर अहिले भने त्यो कुरालाई चिरेर कुलमान घिसिङले राजधानीमा २४ घण्टा बत्ती बालेर झलमल पारिदिएपछि सबै राजधानीबासी खुशी भएका छन् । कुलमानको उदाहरणीय कामसँगै सर्वसाधरणमा अर्को एउटा प्रश्न पनि उब्जिएको छ । ‘लोडसेडिङ अन्त्यको सम्भाव्यतालाई कुल्चिएर राजधानीलाई अँध्यारो बनाइ कसले व्यापार गरिरहेको छ त ?’ यहाँ पुष्टि नै भईसकेको छ कि केही दलाल र केही भ्रष्टहरुको चलखेलले राजधानीबासी अँध्यारोमा वर्षौ काट्न बाध्य भएका रहेछन् । ती दलाल को हुन् भन्ने कुरा एकपछि आफै पर्दाफास हुँदै जानेछ । 
 
आफुसँग भएको बिजुली लुकाएर इन्भटर, सोलार, जेनेरेटरको व्यापार गर्दै आएका ब्यापारीहरु भने अहिले पुर्पुरोमा हात लगाएर बस्न बाध्य भएका छन् । आफ्नो गाउँ देखि शहर र राजधानी अध्यारो पारेर लुटको खेती गरि कमिशन र पैसा कमाउने धन्दा गर्ने अपराधीलाई जुनसुकै सजाय दिए पनि कम नै हुन्छ ।
 
साच्चै देश र यहाँका नागरिकप्रति समर्पित भएर काम गर्ने हो भने परिवर्तन अवस्यम्भावी हुँदो रहेछ भने उदाहरण कुलमानले दिएका छन् । कुलमानले नागरिकको पक्षमा लागेर लोडसेडिङ हटाउने काममात्रै गरेका छैनन्, नेपालमा लोडसेडिङ गर्न नपर्ने गरी विजुली छ, कसैले बेचेर खाईरहेका छन् भन्ने सन्देश पनि अघोषित रुपमा दिएका छन् । यो समयमा कुलमानलाई हटाउने गरी चलखेल पनि सुरु भईसकेको छ । विजुली बेचेर खान पल्केका हाकिमदेखि कर्मचारीसम्म उनीविरुद्ध सल्बलाउन थालिसकेका छन् । 

elestricity-authorityकुलमान विरुद्ध नेपाल विद्युत प्राधिकरणकै कर्मचारी आन्दोलनमा उत्रने उनलाई कार्यकक्षमै थुन्ने लगायतका हल्ला पनि बजारमा न आएका हैनन् । तर पनि कुलमान आफ्नो उज्यालो यात्रालाई अघि बढाए राजधानीलाई उज्यालो बनाई छोड्ने अठोट कायमै राखेका छन् । अहिले देशको राजधानी झलमल भएको छ लोडसेडिङको तालिका हेरिहेरि वाक्क भएका जनताहरू दंग छन् । 

त्यसैले पनि कुलमानको पक्षमा जनलहर बाक्लिएको छ । अहिले उनलाई विद्युत प्राधिकरणबाटै असहयोग भईरहेको र मौका परे कारबाहीसम्म गर्ने तयारी भईरहेको श्रोतको दाबी छ । तर यो परिस्थितिमा कुलमानविरुद्ध कुनै पनि कदम चालिएर राजधानीबासी चुपचाप लागेर बस्ने अवस्था भने देखिँदैन । किनभने यतिका दिनदेखि अँध्यारोमा बस्न बाध्य राजधानीबासीले लोडसेडिङ बिनाका दिन र रातहरु बिताउन पाएका छन् । यसरी आफुलाई प्रफुल्लित पार्ने कुलमानमाथि कारबाही गरिए उनीहरु आन्दोलित हुने पक्कापक्की छ ।