October 19th, 2024

आईएमएफले गरिब देशलाई वार्षिक ५ खर्ब निर्ब्याजी ऋण पुर्‍याउने

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरिब देशहरूलाई वार्षिक रूपमा उपलब्ध गराउने निर्ब्याजी ऋण करिब ५ खर्ब रुपैयाँ पुर्‍याउने भएको छ । हालै आईएमएफको कार्यकारी बोर्डले गरिबी न्यूनीकरण तथा वृद्धि कोष (पीआरजीटी) को समीक्षा गर्दै यस्तो निर्णय गरेको आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिन गोर्जिएभाले जानकारी दिइन् । आईएमएफले यो कोषमार्फत न्यून आय भएका मुलुकलाई निर्ब्याजी ऋण दिने गरेको छ । खासगरी भुक्तानी सन्तुलन लगायत समस्या भएका गरिब मुलुकहरूले यस्तो सुविधा पाउने छन् ।

नेपालले पनि पीआरजीटीअन्तर्गत नै विस्तारित कर्जा सुविधा (ईसीएफ) शीर्षकमा करिब ४० करोड अमेरिकी डलर बराबर निर्ब्याजी रूपमा लिएको छ । दुई वर्षअघि तीव्र रूपमा विदेशी मुद्राको सञ्चिति घटिरहँदा नेपालले त्यो सुविधा लिएको थियो । यो सुविधा लिँदा नेपालले गरेको प्रतिबद्धताअनुरूप आर्थिक तथा वित्तीय क्षेत्र सुधारका विभिन्न कामहरू भइरहेका छन् ।