December 2nd, 2016

पढ्नुहोस्, यो साता चर्चामा रहेका सात बैंकिङ खबरहरु

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

सेयर बजारको अवस्थाप्रति नेप्सेको ध्यानाकर्षण
नेपाली सेयर बजारमा हाल देखिइरहेको गिरावटप्रति नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ध्यानाकर्षण भयो । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेले विशेषतः बीमा समूह र लघुवित्त कम्पनीहरुको धितोपत्रको मूल्यमा आएको गिरावटले सेयर बजारलाई घटाएको बतायो । ‘हालसालैको ह्रासमा खासगरी बीमा समूह तथा लघुवित्त कम्पनीहरुको धितोपत्रको मूल्यमा आएको ह्रास प्रमुख कारक तत्त्व रहेको छ । त्यसैगरी, बैंकिङ समूह, वित्त समूह तथा विकास बैंक समूहका कम्पनीहरुको सेयर मूल्यमा आएको गिरावटले परिसूचकहरुमा प्रभाव परेको देखिन्छ,’ नेप्सेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।  नेप्सेले सेयर लगानीकर्तालाई हतोत्साहित नहुन पनि आग्रह गरेको छ । ‘सूचिकृत कम्पनीहरुले हकप्रद एवम् बोनस सेयर वितरणका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने, वार्षिक साधारणसभा बोलाउने, सेयरधनी बन्द गरेपछि सेयर कारोबारका लागि कारोबार सीमा खुल्ला गर्दा सूचिकृत कम्पनीहरुको सेयरमूल्य घट्न जान्छ । तर, समग्र अर्थतन्त्रमा तरलताको स्थिती सन्तोषप्रद रहेको हुँदा वित्तीय क्षेत्रको प्रभुत्व रहेको यस बजारका लगानीकर्ता हतोत्साहित हुनुपर्ने अवस्था छैन ।’ विज्ञप्तिमा उल्लेख छ ।

नेपाल हाइड्रो डेभलपरको सेयर निष्काशन
नेपाल हाइड्रो डेभलपर लिमिटेडले दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्यो । कम्पनीले दोलखाका आयोजना प्रभावितका लागि एक सय रुपैंया अंकित मूल्यमा दुई करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको छ । १९ करोड ५० लाख रुपैंया चुक्ता पूँजी रहेको कम्पनीले शेयर निष्कान योग्य २६ करोडको १० प्रतिशतले हुने २ करोड ६० लाख रुपैंयाको शेयर आयोजना प्रभावितका लागि निष्काशन गरेको हो । दोलखाको भिमेश्वर ८, ९ र ११, मागपौवा ५ र काटाकुटी ६ का बासिन्दाले उक्त सेयर खरिद गर्न सक्नेछन् । आयोजना प्रभावितहरुले हाइड्रोको प्राथमिक शेयरका लागि अरनिको डेभलपमेण्ट बैंक दोलखा, तथा चरिकोट शाखा, कालिञ्चोक डेभलपमेण्ट बैंकको चरिकोट तथा बाघखोर शाखामा सम्पर्क गर्नुपर्ने छ । मंसिर १६ गतेबाट निष्काशन भएको शेयरका लागि छिटोमा पुस १० तथा ढिलोमा माघ दुई गतेसम्ममा आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

एनआईबिएल प्रगति फण्ड निष्काशन
एनआईबिएल म्युचुअल फण्डले एनआईबिएल प्रगति फण्ड निष्काशन खुला गर्यो । कम्पनीले ५ करोड १० लाख रुपैयाँ इकाई सार्वजनिक रुपमा, बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड तथा न्यूनतम ८० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेण्ट बैङ्कका लागि निष्काशन गरेको हो । विहीबार (मंसिर १६ गते) देखि निष्काशन खुला गरिएको फण्डमा छिटोमा मङ्सिर २० गते र ढिलोमा मङ्सिर ३० गते सम्म आवेदन दिन पाइनेछ । प्रति इकाई १० रुपैयाँ अङ्कित मूल्य रहेको यस योजनामा सर्वसाधारणले न्यूनतम एक सय इकाईदेखि अधिकतम ६० लाख इकाईसम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडका साथमा नेपाल इन्भेष्टमेण्ट बैङ्कका शाखा कार्यालयहरुबाट आवदेन दिन सक्नेछन् । दरखास्त फारम प्रारम प्राप्त गर्नका लागि प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनुपर्ने बताइएको छ ।

पुँजी पुर्याउँदै बैंकहरु
प्रभु बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरेर आठ अर्बभन्दा बढी चुक्तापुँजी पुर्याउने प्रस्ताव पारित गर्न पुस ८ गते साधारणसभा बोलायो । पोखराको कामना विकास बैंक  र बुटवलको सेवा विकास बैंकले मर्जरमा जाने सहमति गरे । निर्धन उत्थान बैंकको १८ औँ बार्षिक साधारणसभाले आफ्ना सेयर सदस्यहरुलाई १० करोड रुपैयाँ सेयर लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गर्यो । ओम डेभलपमेन्ट बैंक लिमिटेडले प्रस्ताव गरेको २९.२०५ बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्विकृत भयो । २५ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयर पारित गर्न कञ्चन डेभलपमेन्ट बैंकले पुस ९ गते साधारणसभा बस्ने निर्णय गर्यो । सेन्ट्रल फाइनान्स लिमिटेडले २२.५ प्रतिशत बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्विकृती पायो । ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि देवः विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पायो । कन्ट्री डेभलपमेन्ट बैंकले ८.४५ प्रतिशत बोनस जारी गर्न नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति पायो । ८० प्रतिशत हकप्रद निष्काशनका लागि सगरमाथा फाइनान्सले मंसिर २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गर्यो । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले १२ प्रतिशत बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्विकृती पायो । मञ्जुश्री फाइनान्सले पनि १४ प्रतिशत बोनस सेयर जारी गर्न राष्ट्र बैंकको स्विकृती पायो ।

शाखा तथा कार्यक्षेत्र विस्तार
विकट जिल्ला अछाममा प्रभु बैंकले यूके एड “सक्षम”को सहकार्यमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्यायो । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सिन्धुलीको कमलामाई नगरपालिका (बैंक रोड), नुवाकोटको विदुर नगरपालिका तथा काभ्रेपलाञ्चोकको बनेपामा आफना शाखा कार्यालयहरु विस्तार गर्यो । साथै, काभ्रेपलाञ्चोक, धादिङ्ग, गोरखा तनहुँ, र कास्कीमा आफनो कार्यक्षेत्र विस्तार गर्न नेपाल राष्ट्र बैंक बाट स्वीकृती समेत प्राप्त गर्यो ।  

नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले यो साताको सोमबार १३.८२ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्यो । त्यस्तै, बुधबार राष्ट्र बैंकले २५ करोड रुपैयाँको रिभर्स रिपो जारी गर्यो । 

अन्य
सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डोमेस्टिक डेबिट, क्रेडिट र डलर डेबिट÷ट्राभल कार्डहरु सुरु गर्यो । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि. बिच आइतबार (मंसिर १२ गते) रेमिट्यान्स सम्झौता सम्पन्न भयो । नेपाललाई पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा चिनाउने उद्देश्यले ‘एक्सपिरियन्स नेपाल’ नाराका साथमा नेपाल पर्यटन बोर्डले अमेरिकन एक्सप्रेस र हिमालयन बैंक लिमिटेडसँगको सहकार्यमा विश्वव्यापी पर्यटन अभियान सुरु गर्यो ।