नेपाल हाइड्रो डेभलपर लिमिटेडले दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको छ । कम्पनीले दोलखाका आयोजना प्रभावितका लागि एक सय रुपैंया अंकित मूल्यमा दुई करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको छ । १९ करोड ५० लाख रुपैंया चुक्ता पूँजी रहेको कम्पनीले शेयर निष्कान योग्य २६ करोडको १० प्रतिशतले हुने २ करोड ६० लाख रुपैंयाको शेयर आयोजना प्रभावितका लागि निष्काशन गरेको हो ।
दोलखाको भिमेश्वर ८, ९ र ११, मागपौवा ५ र काटाकुटी ६ का बासिन्दाले उक्त सेयर खरिद गर्न सक्नेछन् । आयोजना प्रभावितहरुले हाइड्रोको प्राथमिक शेयरका लागि अरनिको डेभलपमेण्ट बैंक दोलखा, तथा चरिकोट शाखा, कालिञ्चोक डेभलपमेण्ट बैंकको चरिकोट तथा बाघखोर शाखामा सम्पर्क गर्नुपर्ने छ । मंसिर १६ गतेबाट निष्काशन भएको शेयरका लागि छिटोमा पुस १० तथा ढिलोमा माघ दुई गतेसम्ममा आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
आयोजना प्रभावितका लागि शेयर निष्काशन गरे पश्चात कम्पनीले सोही पूँजीको १५ प्रतिशत अर्थात तीन लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्दैछ । त्यस पछि कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ । हाल कम्पनीको अधिकृत पूँजी ६० करोड रहेको छ ।
कम्पनीलाई इक्रा नेपालले रेटिङ चार प्रदान गरेको छ । कम्पनीले तीन दशमलव पाँच मेगावाट क्षमताको चर्नावती खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ । नेपाल उद्योग वाणिज्य महासंघ उर्जा समितिको सभापति ज्ञानेन्द्रलाल प्रधान हाइड्रो पावरको अध्यक्ष छन् भने महासंघका अध्यक्ष पशुपति मुरारका लगायत सञ्चालक रहेका छन् ।


