November 30th, 2016

सेयर लगानीकर्तालाई गभर्नर नेपालको सुझाव– ‘ढुक्कसँग लगानी गर्नुस्’

sejon-dr-nepalसेयर बजारमा अस्वभाविक भनिएको उतारचढावले लगानीकर्ता अन्यौलमा परेका बेला नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबी नेपालले लगानीकर्तालाई धैर्य गर्न सुझाव दिएका छन् । नेपाल आर्थिक पत्रकार समाजको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय बैंकका गभर्नर डा. नेपालले भने, ‘सेयर बजारमा उतार चढाव हुनु सामान्य हो, बढ्दा उत्साहित हुने र घट्दा आत्तिने गर्नु एउटा लगानीकर्ताको परिपक्वता हुँदैन ।’ उनले पछिल्लो पटक बजारमा देखिएको उतारचढाव अस्वभाविक नभएको पनि दाबी गरे । ‘यो अस्भाविक होइन’, उनले भने–‘लगानीकर्ताले थोरै संयम र धैर्य पनि हुनुपर्छ ।’

बोल्ने क्रममा उनले पछिल्लो पटक ल्याइएको मौद्रिक नीतिको सकारात्मक उपलब्धिहरु देखिएको दाबी गरे । अघिल्लो पटक मौद्रिक नीतिमा चुक्ता पुँजीसम्बन्धी ल्याइएको व्यवस्थाले बैंक तथा वित्तीय क्षेत्र अहिले उदाहणीय प्रगतिमा उन्मुख रहेको उनको भनाई थियो ।