November 30th, 2016

नौ महिनामा एक लाखले लिए स्मार्ट लाइसेन्स : यातायात विभागमा सेना र प्रहरीसमेतको भीड

यातायात व्यवस्था विभागअन्तर्गतको बागमती अञ्चल कार्यालयले झन्डै ९ महिनामा एकलाख सातहजार स्मार्ट सवारी चालक अनुमतिपत्र बितरण गरेको छ । नमुनाका रुपमा बागमती कार्यालयमा गत चैतदेखि स्मार्ट चालक अनुमतिपत्र वितरण सुरु भएको हो । 

स्मार्ट चालक अनुमतिपत्रले गर्दा कार्यालयमा भीड बढेको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए । 
 उनले भने, ‘स्मार्ट अनुमतिपत्र देशमा मात्रै नभएर विदेश जानेका लागिसमेत उपयोगी हुन्छ ।’ नयाँ अनुमतिपत्र सुरु भएपछि मिसनमा जाने सेना, प्रहरीको समेत भीड लागेको छ । 
 
पानीमा नभिज्ने, देख्दा राम्रो र नक्कलको सम्भावना कम भएकाले पनि स्मार्ट  चालक अनुमतिपत्र धेरैको रोजाईमा परेको यादव बताए । उनले भने, ‘मेसिन रिडेबल हुँदा यसले अन्तर्रा्ष्ट्रियस्तरमा समेत मान्यता पाउँछ ।’ 
 
स्मार्ट कार्ड सुरु भएपछि कार्यालयले अरू देशको स्मार्ट कार्डलाई पनि नेपालीकरण गरिरहेको छ । अरू ठाउँका यातायात अञ्चल कार्यालयमा अहिले विभिन्न कारणले सेवा बन्द छ । सेवा सञ्चालनमा हुँदासमेत कतिपय धाएरै स्मार्ट कार्ड लिन काठमाडौँ आउने गरेका थिए । पहिले बनाइसकेको कार्ड नवीकरण हुँदा पनि कार्यालयले स्मार्ट कार्ड नै दिइरहेको बताएको छ । रासस