प्रभु बैंकले ०७४ असार मसान्तभित्र राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नघाउने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि कतिपय बैंकहरु चुक्ता पुँजी पुर्याउन मर्जर वा एक्वायरमा गईरहेका छन् । तर पुँजी बढाउनका लागि अब प्रभु बैंक मर्जर वा एक्वायर पनि जानुपर्ने अवस्था छैन ।
हकप्रद सेयर जारी गरे चुक्ता पुँजी पुग्ने
बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरेर चुक्ता पुँजी पुर्याउने भएको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले आगामी पुस ८ गते साधारणसभा बोलाएको छ । हाल सेयर कारोबार बन्द रहेको बैंकले कारोबार हुँदासम्मको मितिलाई आधार मानेर साधारणसभा बोलाएको हो । हाल प्रभु बैंकको चुक्तापुँजी पाँच अर्ब ८८ करोड रुपैयाँ छ । १० बराबर चारको अनुपातमा हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब २३ करोड रुपैयाँ नाघ्नेछ ।
निजी क्षेत्रकै सबैभन्दा बलियो बैंक
शाखा, एटीएम, सेयरधनीको संख्यालगायतका हिसाबले प्रभु बैंक निजी क्षेत्रका बैंकहरुमध्ये नेपालकै ठूलो र सबल बैंकको रुपमा स्थापित भईसकेको छ । आठ वर्षअघि ३ करोड चुक्ता पुँजी राखेर फाइनान्स कम्पनीकोरुपमा स्थापना भएको प्रभु बैंकले मर्जरबाटै स्तरोन्नित भएर ५ अर्ब ८८ करोड रुपैयाँ रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेको छ । यस अवधिमा बैंकले आठवटा संस्था मर्ज गरेको छ ।
चुक्ता पुँजी पुर्याउने प्रयासमा प्रभुले यसअघि ८ वटा संस्थालाई आफुमा गाभेको हो । प्रभुले अघिल्लो वर्ष ग्राण्ड बैंकलाई गाभेको थियो । त्यसअघि विकास बैंक हुँदै तत्कालीन किष्ट बैंकलगायत चार संस्थालाई गाभेर ०७१ भदौ ३० गते प्रभु बैंकको रुपमा एकीकृत कारोबार गरेको थियो । ८ अर्ब चुक्ता पुँजी पुर्याउन अब बैंक मर्जरमा जानुपर्ने अवस्था नरहेको बैंकले स्पष्ट पारेको छ ।



