रोयल आचार्य/बैंकिङ खबर – नेपाल सरकारले प्रत्येक आर्थिक बर्षका लागि ल्याउने बजेट कार्यान्वयनमा समस्या हुने गरेको छ । बजेट ल्याएकै सरकार एक वर्ष नटिक्ने परिपाटीले झन् समस्या बढाउने गरेको छ । बर्षैपिच्छे परिवर्तन हुने सरकारले पूँुजिगत खर्च बर्षेनी बृद्धि गरिरहेको हुन्छ । पूँजीगत खर्च बृद्धि भइरहँदा सरकारले गर्ने खर्च भने बढ्न सकेको छैन । अर्थ मन्त्रालयले ल्याएको बजेट कार्यान्वयनमा अन्य मन्त्रालयहरुले बिशेष ध्यान नदिँदा कार्यान्वयनमा समस्या आउने गरेको बताइन्छ ।
गएको २५ बर्ष भित्रमा २३ वटा सरकार परिवर्तन भएका छन् । शान्ति प्रक्रियापछि मात्रै पनि ९ वटा सरकार परिवर्तन भइसकेका छन् । स्थायी सरकारको अभाव र सरकारको उदासिनताका कारण बजेट कार्यान्वयनमा समस्या आउने गरेको विज्ञहरु बताउँछन् । बजेट कार्यान्वयन समस्या आउने गरे पनि के कारणले समस्या आएको भन्ने बिषयमा भने खासै बहस भएको पाइँदैन । बजेट कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि गम्भीर छलफलको आवश्यकता रहेको विज्ञहरु बताउँछन् । बजेट कार्यान्वयनमा समस्या हुनुको प्रमुख कारण राजनीतिक अस्थिरता नै भएको अर्थविश्लेषकहरुको दाबी छ ।
विगतका बर्षहरु भन्दा आ.ब. ०७२/७३ मा बजेट कार्यान्वयनको अवस्था अझ निराशाजनक देखिएको छ । आर्थिक वर्षको पहिलो चौमासिक सकिदासम्म १५ प्रतिशत पनि बजेट खर्च भएको छैन । अघिल्लो वर्ष बैशाखमा गएको शक्तिशाली भूकम्प र भारतीय नाकाबन्दीका कारण आर्थिक बर्ष ०७२/७३ मा बजेट कार्यान्वयनमा समस्या आएको थियो ।
के भन्छन् त पूर्व अर्थमन्त्रीहरु ?
कांग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महत भन्छन्– ‘बजेट कार्यान्वयन नभएर फ्रिज हुनुमा वर्तमान प्रकृतिको राजनीति नै दोषी छ ।’ बर्षै पिच्छे सरकार परिवर्तन भइरहने प्रक्रियाले बजेट कार्यान्वयन प्रभावित भएको उनको दाबी छ ।
नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री भरत मोहन अधिकारी पनि राजनीतिक खिचातानीकै कारण बजेट कार्यान्वयनमा समस्या आएको भन्ने महतको भनाईसँग सहमत छन् । अधिकारी भन्छन्– ‘राजनीतिक नेतृत्वले कुन मन्त्रालयबाट के कति काम भइरहेको छ, त्यसबारे बुझेर उचित कार्य गर्नेलाई सम्मान गर्नुपर्छ । यसो गर्नाले बजेट कार्यान्वयन सहज हुन्छ ।’
त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन सस्तो लोकप्रियताका लागि बजेट ल्याउने प्रवृत्तिले कार्यान्वयनमा समस्या आउने गरेको बताउँछन् । उनी भन्छन्–‘सरकार परिवर्तन भइरहने र एउटा सरकारले ल्याएको बजेट अर्को सरकारले बेवास्ता गर्ने गरेका कारण बजेट कार्यान्वयमा समस्या हुने गरेको छ ।’