November 28th, 2016

सरकारले एक खर्बको पूरक बजेट ल्याउँदै, एमाले रुष्ट   

budgetकेपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयमा समस्या आइरहेका बेला प्रचण्ड नेतृत्वको सरकारले करिब १ खर्ब रुपैयाँको पूरक बजेट ल्याउने तयारी थालेको छ । प्रचण्ड नेतृत्वकोे गठबन्धन सरकारले आफ्ना पालामा घोषणा भएका कार्यक्रम कार्यान्वयन र पूर्वाधार निर्माणका लागि भन्दै करीब १ खर्ब रुपैयाँको पूरक बजेट ल्याउने तयारी थालेको हो । यसका लागि नेकपा माओवादी केन्द्रले राजनीतिक सहमतिको प्रयास गरिरहेको छ । 

आफ्नै सहभागीतामा ओली नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयनको चरण रहेका बेला अर्को बजेट ल्याउनु हास्यास्पद् भएको तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले टिप्पणी गरे । उनले भने, ‘यो हाँसो उठ्दो मात्रै होइन लाजमर्दो कुरा हो ।’ साँच्चै देशको चिन्ता भए बिनियोजित बजेटलाई कार्यान्वयन गर्नुपर्ने उनको तर्क छ । 

माओवादी केन्द्र पनि सहभागी अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि साढे १० खर्बको बजेट ल्याएको थियो । तर त्यसको ४ महिनापछि माओवादी केन्द्रकै नेतृत्ववाला सरकारले पूरक बजेटको तयारी थालेको हो । पूरक बजेटमा माओवादीलाई सत्ता साझेदार नेपाली कांग्रेसले सहयोग गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसको बिरोध गर्ने बताइसकेको छ ।