नवराज कुँवर – ‘के भईरहेको छ ? म त छक्क परिसकेँ । गएको हप्ता त घट्यो घट्यो, यो साता त बढ्ला भन्ने आसा थियो, तर खोई ?’ सेयर मार्केटमा भेटिएका लगानीकर्ता विनोद न्यौपाने आफ्ना साथीसँग भन्दै थिए– ‘अब केही विकल्प सोच्नुपर्लाजस्तो छ ।’ मोबाइलमा नेप्से परिसूचक नियालिरहेका उनी आत्तिएको मुद्रामा देखिन्थे । केही महिनाअघिबाट मात्रै सेयर मार्केटमा छिरेका उनलाई यो पटकको गिरावट अस्वभाविक लागेको छ । ‘सबै कुरा सामान्य नै छ’, उनले भने ‘राजनीतिक घट्नाक्रम, अन्तर्राष्ट्रिय गतिविधिहरु पनि सामान्य नै भएका बेला यसरी किन घट्दैछ बजार ?’ उनीजस्तै अन्य थुप्रै लगानीकर्ता यतिबेला आश्चर्यचकित छन् ।
अघिल्लो सातादेखि सुरु भएको सेयर बजारमा पहिरो जाने क्रम अझै रोकिएको छैन । गिरावटका क्रममा गत साता सेयर बजार १५३४ अंकमा कायम भएको थियो । यो साता पनि त्यो गिरावटमा त्यति सुधार हुने संकेत देखिएको छैन । यो साताको पहिलो दिन आइतबार पनि घटेरै बन्द भएको सेयर कारोबार सोमबार पुनः अस्वाभाविक रुपमा घटेपछि नेपाल स्टक एक्सेन्ज (नेप्से)ले डेढ घण्टाभित्र दुई पटक सर्किट ब्रेक लगाउनुपर्यो । कारोबार सुरु हुनेबित्तिकै ५२.७६ बिन्दुले परिसूचक घटेपछि नेप्सेले सर्किट ब्रेक लगाएको हो । नेप्सेले आइतबार पनि सर्किट ब्रेक लगाएको थियो । सबै समूह घटेपछि त्यसलाई अस्वभाविक मान्दै नेप्सेले कारोबार बन्द गर्ने गर्दछ ।
सोमबार दोश्रो पटकको सर्किट ब्रेकपछि भने लगानीकर्ताको निराशामा केही शितलता छायो । दोश्रो पटकको सर्किट ब्रेकपछि सोमबार ४१.२९ प्रतिशतले परिसूचक बढेर कारोबार बन्द भएको छ । यद्यपी लगानीकर्तामा अन्यौलता भने कायमै छ– ‘बजार मंगलबार पनि घट्ने हो कि?’ भारतले ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएदेखि नै सेयर बजार असन्तुलित देखिएको हो । तर सो घट्ना भएको दुई साता वितिसक्दा पनि बजारको गिरावट कायमै रहेपछि भने अन्य आशंकाहरु पैदा भएका छन् ।
‘हल्लाले क्र्यासको अवस्था’
निकै तीव्र गतिमा बजारमा गिरावट आएपछि लगानीकर्ताहरु आत्तिएका छन् । नकारात्मक हल्ला फैलाएर क्र्यास गराउने प्रयास भएपछि लगानीकर्ताहरु आत्तिएका हुन् । बजारमा अहिले देखिएको गिरावट निकै अस्वभाविक रहेको र यसमा चलखेल देखिएको भन्दै विज्ञहरुले यसबारेमा छानबीन गर्न समेत आग्रह गरेका छन् । अहिले बजार यसरी घट्नुपर्ने कुनै आर्थिक तथा राजनीतिक कारण नरहेको प्रतिक्रिया विज्ञहरुले दिएका छन् ।
‘सस्तोमा राम्रा कम्पनीहरुको सेयर बुक गर्ने षड्यन्त्र’
इन्भेष्टर फोरमका कार्यकारी सदस्य राजन लम्साल भन्छन्– ‘साना तथा मध्यम लगानीकर्ताहरुलाई बोनस खान नदिनका लागि नेप्से घटाएर सस्तोमा राम्रा कम्पनीहरुको सेयर बुक गर्ने काम भइरहेको छ । यो गलत हो । बजार यसरी घट्नुपर्ने कुनै कारण छैन ।’
म्युचुअल फन्ड कम्पनीहरु चुपचाप
सेयर बजार निरन्तर ओरालो लाग्दा सेयर किनेर बजारलाई सन्तुलित पार्ने दायित्व बोकेका म्युचुअल फन्ड कम्पनीहरु पनि यतिबेला आफ्नो भूमिकाबाट पछि हटेको लगानीकर्ताहरुको गुनासो छ । सेयर बजार क्र्यासको अवस्थामा पुगेका बेला म्युचुअल फन्ड कम्पनी चुपचाप बसेको उनीहरुको गुनासो हो । तर म्युचुअल फन्ड कम्पनी भने विद्यमान अवस्थामा ‘रिस्क’ मोलेर सेयर बजारमा लगानी गर्ने मनस्थितिमा देखिदैनन् ।
निराश नहुन आग्रह