November 28th, 2016

टुरिजमका सेयरधनीलाई १९.८ प्रतिशत बोनस सेयर, यसरी पुग्दैछ अढाई अर्ब पुँजी

tourismटुरिजम डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १९.८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार सम्पन्न १७२ औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त अनुपातमा बोनस सेयर दिने निर्णय गरेको हो । गत आर्थिक वर्षमा बैंकले १९ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकले राष्ट्र बैंकले ताकेबमोजिम दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन उक्त बोनस सेयर जारी गर्न लागेको हो । हाल टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी ७८ करोड रुपैयाँ छ । 

बैंकले झन्डै पाँच करोड रुपैयाँ चुक्तापुँजी भएको मातृभूमि विकास बैंक र १० करोड रुपैयाँ चुक्तापुँजी भएको कालिञ्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ति(एक्वायर) गर्दैछ । यी दुई संस्थालाई प्राप्तिका सबै प्रक्रिया पूरा गरी बैंकले असोज ५ गते अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन पेश गरिसकेको छ । दुई साना विकास बैंकलाई एक्वायर गरेपछि टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापूँजी ९१ करोड ९७ लाख ७१ हजार २ सय रुपैयाँ पुगेको छ । 

यी दुई संस्थालाई एक्वायर गरेपछि कायम हुन आउने पूँजीको शतप्रतिशत(१ बराबर १ को दर)ले हकप्रद निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि बैंकले एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । हकप्रद निष्काशनपछि बैंकको चुक्तापूँजी १ अर्ब ८४ करोडको हाराहारीमा पुग्नेछ । 

बाँकी अपुग पूँजी थप गर्नका लागि बैंकले बोनस सेयर जारी गर्न लागेको हो । बैंकले हाल कायम चुक्तापुँजी ७८ करोड रुपैयाँको १९.८ प्रतिशतले हुन आउने १४ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो । बोनस सेयर, एक्विजिसन र हकप्रद सेयर पछि बैंकको चुक्तापुँजी एक अर्ब ९९ करोड ४४ लाख रुपैयाँ पुग्नेछ । बाँकी पुँजी वृद्धिका लागि बैंकले अन्य वित्तीय संस्थासँग मर्जरमा जाने विकल्प पनि खुला राखेको छ ।