राष्ट्र बैंकले पुँजी वढाउन सवैभन्दा उत्तम विकल्प मर्जर नै रहेको वताइरहँदा पोखराको कामना विकास बैंक र बुटवलको सेवा विकास बैंकले मर्जरमा जाने सहमति गरेका छन् । यी दुई बैंक मर्जपछि राष्ट्रिय स्तरको विकास बैंकको रुपमा अर्को एउटा सशक्त विकास बैंक थपिने छ ।
मर्जरपछि बैंकको नाम
सहमतिअनुसार मर्जरपछि बैंकको नाम ‘कामना सेवा विकास बैंक’ हुनेछ । सेवा विकास बैंकले दिएको जानकारी अनुसार मर्जरपछि बैंकको अध्यक्ष कामना बैंकको तर्फबाट रहनेछन् भने सीइओ सेवा विकास बैंकको तर्फबाट रहनेछन् ।
मर्जरपछि चुक्ता पुँजी
मर्जरपछि हुने कामना सेवा विकास बैंकको कूल पूँजी २ अर्व ६ करोड ६३ लाख हुने बताइएको छ । राष्ट्रिय स्तरको विकास बैंक वन्न २ अर्व ५० करोड चुक्ता पुँजी आवश्यक हुन्छ । थप पुँजी वृद्धिका लागि दुवै बैंकले पहल गर्ने भएका छन् । अहिले कामना विकास बैंकको चुक्ता पुँजी ६६ करोड १६ लाख ४९ हजार छ । अब उसले बोनस सेयर पश्चात ३० प्रतिशत हकप्रद सेयर जारी गर्दैछ ।
त्यसैगरी हाल ४२ करोड ५५ लाख ५२ हजार रुपैयाँ चुक्त पुँजी रहेको सेवा विकास बैंकले १ सय २० प्रतिशत हकप्रद सेयर जारीको आब्हान गरिसकेको छ ।
मर्जरपछि बैंकको कूल निक्षेप ११ अर्ब ५५ करोड हुनेछ भने कूल कर्जा १० अर्ब ८४ करोड हुने जनाइएको छ । राष्ट्र बैंकले पुँजी वढाउन सवैभन्दा उत्तम विकल्प मर्जर नै रहेको वताइरहँदा यी दुई संस्थाले मर्जरको सम्झौता गरेर राष्ट्र बैंकको व्यवस्थालाई कार्यान्वयन गरेका हुन् । वाणिज्य बैकहरुले मर्जभन्दा पनि हकप्रद र वोनस सेयरमा जोड दिइरहेका समयमा विकास बैंक भने मर्जरमा जानुले वित्तीय स्थायीत्वमा सहयोग पुग्ने पनि बैंकरहरु बताउँछन् ।