रोयल आचार्य/बैंकिङ खबर – निर्धन उत्थान बैंक लिमिटेडले आफ्ना सेयर सदस्यहरुलाई १० करोड रुपैयाँ सेयर लाभांश वितरण गर्ने भएको छ । बैंकको आइतबार सम्पन्न १८ औँ बार्षिक साधारणसभाले आफ्ना सेयर सदस्यहरुलाई नाफाको २० प्रतिशत सेयर लाभांश दिने निर्णय गरेको हो । २०७३ आषाढ मसान्त सम्मको कूल चुक्ता पूँजी ५० करोडको २० प्रतिशतबाट हुन आउने १० करोड रुपैयाँ नगद लाभांशका रुपमा सेयर सदस्यहरुलाई दिने निर्णय साधारणसभाले सर्वसम्मत पास गरेको हो । साधारणसभाले बैंकको जारी पूँजी तथा चुक्ता पूँजी गरी ६० करोड पुर्याउने, बैंकको प्रबन्ध पत्रमा आवश्यक संशोधन गर्ने आदि निर्णय सर्वसम्मत पास गरेको छ । निर्धन उत्थान बैंकले चालु आ.ब. २०७३/७४ को कार्तिक मसान्तसम्ममा रु.५७ अर्ब ७७ करोड २२ लाख ६१ हजार ८ सय ६४ लगानी गरेको छ । बैंकको गत आ.ब.को असार मसान्त सम्ममा १० अर्ब ९६ करोड ३२ लाख १९ हजार ४ सय २५ कर्जा लगानी रहेको छ । बैंकले गत आ.ब. २०७२/७३ मा ४० करोड ३१ लाख ८ हजार १ सय ८५ रुपैंया मूनाफा गरेको छ भने चालु आ.ब.को ४ महिनामा १५ करोड ७० लाख ८० हजार रुपैंया खुद मूनाफा गरेको छ । बैंकको चुक्ता पूँजी ५० करोड रुपैंया रहेकोमा यस साधारणसभामा प्रस्तावित बोनस सेयर २० प्रतिशतका दरले १० करोड बोनस शेयर वितरण गर्न स्किृति अनुमोदन भएपछि बैंकको चुक्ता पूँजी ६० करोड पुगेको छ ।
उत्कृष्ट शाखाहरु पुरस्कृत
१८ औँ बार्षिक साधारणसभाका अवसरमा निर्धन उत्थान बैंक लिमिटेडले उत्कृष्ट शाखाका प्रमुखहरुलाई सम्मान गरेको छ । सम्मान पाउने शाखाहरुमा, अत्तरिया क्षेत्रीय कार्यालय अन्तर्गत स्वास्थ्यचौकी शाखा, कोहलपूर क्षेत्रीय कार्यालय अन्तर्गत खजूरा शाखा, भैरहवा क्षेत्रीय कार्यालय अन्तर्गत भैरहवा शाखा, भरतपूर क्षेत्रीय कार्यालय अन्तर्गत माडी शाखा, पोखरा क्षेत्रीय कार्यालय अन्तर्गत बूर्तिबाङ्ग शाखा, बिरगंज क्षेत्रीय कार्यालय अन्तर्गत परवानीपूर शाखा, बर्दिबास क्षेत्रीय कार्यालय अन्तर्गत धनूषाधाम शाखा, बिर्तामोड क्षेत्रीय कार्यालय अन्तर्गत हिले शाखा, बिरेन्द्रनगर क्षेत्रीय कार्यालय अन्तर्गत दूल्लू शाखा, काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गत ज्याठा शाखा रहेका छन् । उत्कृष्ट शाखाका शाखा प्रमूखहरु तथा सोही शाखाका सहायक कर्मचारीहरुलाई बैंकको संचालक समितिका संचालकहरुले सम्मान पत्र तथा नगद पुरस्कार सहित सम्मान गरेको छ ।
निर्धन उत्थान बैंक सञ्चालक समितिका अध्यक्ष गणेश बहादुर थापाले साधारणसभामा बार्षिक कार्यक्रम पेश गर्दै ‘चालु आर्थिक बर्ष २०७३/७४ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा एक सुत्रीय अभियान लिएको’ वताए । अध्यक्ष थापाले पेश गरेको चालु आ.ब.को नीति तथा कार्यक्रम अनुसार बैंकले मुख्य रुपमा निम्नानुसारको कार्य गर्ने बैंकले लक्ष्य लिएको छ ।
क) २ लाख ७६ हजार ७५४ ग्राहकबाट ३० हजार थप गरी ३ लाख ७ हजार ५ सय ५ ग्राक समक्ष सेवा पुर्याउने,
ख) १ लाख ९० हजार ऋणीबाट २५ हजार ऋणी थप गरी २ लाख १५ हजार ऋणि पुर्याउने,
ग) लगानीमा रहेको कर्जा रु.१० अर्ब २३ करोडमा रु. ३ अर्ब १ करोडले बृद्धि गरी १३ अर्ब २४ करोड पुर्याइने,
घ) हाल रहेको बचत तथा निक्षेपमा २ अर्ब २९ करोड २० लाख रुपैंया बृद्धि गरी ६ अर्ब ४६ करोड ४७ लाख रुपैंया बनाइने ।
निर्धन उत्थान बैंकको स्थापना वि.स.२०४७ सालमा चेत्र १७ गते भएको थियो । गरिबी निवारणको लागि स्थापना भएको ‘निर्धन’ नामक संस्थाको पहलबाट निर्धन उत्थान बैंकको स्थापना भएको हो । तत्कालिन ‘निर्धन’ संस्थाले २०४९ सालमा रुपन्देशी जिल्लाको सिक्टहन गाविसबाट धितो बेगर समूह जमानीमा लघुकर्जा वितरण गरी देशकै पहिलो लघुवित्त संस्था बन्न सफल भएको थियो । निर्धन उत्थान बैंकको ७५ वटै जिल्लामा शाखा कार्यालयहरु स्थापना भइसकेका बैंकले जनाएको छ । देशको ७५ वटा जिल्लाका १ हजार ७ सय ८१ वटा गाविस तथा नगरपालिकाका जनताले यस बैंकबाट बैंकिङ सुविधा पाइरहेका छन् । निर्धन उत्थान बैकको हाल देशभर १७८ वटा शाखा कार्यालयहरु छन् ।