Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

१५ करोडभन्दा कम नाफा कमाउने पाँच बैंकहरु

२०७३ मंसिर ११ गते

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कतिपय बैंकहरुको नाफा तथा प्रगति विवरण हेर्दा नेपालको वित्तीय क्षेत्र सबल बन्दै गएको भान हुन्छ । पहिलो त्रैमासमा नै एक अर्बमाथिको नाफा आर्जन गरेर नेपाल बैंक उदाहरणीय बनेको छ । निजीस्तरका नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पौने एक अर्ब नाफा कमाएका छन् । कतिपय बैंकको नाफा भने एकदमै न्यून देखिएको छ । २८ वटा वाणिज्य बैंकमध्ये, पाँच वटा बैंकको नाफा १ करोडदेखि १५ करोड बिचमा रहेको छ । 

सिभिल बैंकको नाफा १ करोड ४५ लाख
civil bankसिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ दशमलव २३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिलले ५ करोड ८७ लाख रुपैयाँ मुनाफा कमाएको थियो । ३ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी भएको सिभिल बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १४ दशमलब ५० प्रतिशतले वृद्धि गरी ३१ अर्ब ३४ करोड १२ लाख रुपैयाँको संकलन गरेको छ । कर्जातर्फ बैंकले १२ दशमलव १२ प्रतिशत वृद्धि गरी २६ अर्ब ३४ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ । यो अवधिमा सिभिल बैंकको खुद व्याज आम्दानी ५७ दशमलव ९३ प्रतिशतले बढेर २२ करोड ९७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले ३२ करोड ११ लाख ८९ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको यस्तो मुनाफा २१ करोड सात लाख ६१ हजार रुपैयाँ थियो । पहिलो त्रैमासमा १६ करोड ३२ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ३२ करोड ६४ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ५३ करोड रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको बैंकको निष्कृय कर्जा ४ दशमलव १३ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १२ दशमलव २७ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर आम्दानी १ दशमलव ८५ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय १७ दशमलव ४५ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ०६ प्रतिशत रहेको छ ।

जनता बैंकको नाफा ६ करोड ३९ लाख
janata bank 1जनता बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ५२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा जनताले ५ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो । २ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी भएको जनता बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १३ दशमलव ६३ प्रतिशत वृद्धि गरी २५ अर्ब २५ करोड ३ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले १० दशमलव ५२ प्रतिशत बढाएर २१ अर्ब ८० करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा  ११ दशमलव ९७ प्रतिशतले बढेर १८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ९ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ५९ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ४ करोड ८२ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ६८ करोड २६ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्र्जा १ दशमलव १८ प्रतिशत र जोखिमयुक्त सम्पति १२ दशमलव १४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १२ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ४३ गुणा, प्रति शेयर नेटवर्थ १ सय ३३ दशमलव १४ रुपैयाँ, तरलता अनुपात २४ दशमलव १० प्रतिशत रहेको छ ।

एनसीसी बैंकको नाफा १२ करोड ९० लाख
ncc bankनेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १ दशमलव ५७ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनसीसीले  १२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले गत वर्षको असोज मसान्तको तुलनामा निक्षेपमा २० प्रतिशतले वृद्धि गरी ३० अर्ब ६३ करोड ३० लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले १९ प्रतिशत बढाएर २५ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा बैंकले राम्रै प्रगति गरेको देखिन्छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २० दशमलव ३९ प्रतिशतले बढेर २४ करोड २४ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा २७ दशमलव ८१ प्रतिशतले बढेर १७ करोड ४ लाख रुपैयाँ पुगेको छ । तीन महिनाको अवधिमा ३ करोड २३ लाख रुपैयाँ खराब कर्जा उठाएको एनसीसीले प्रोभिजनमा ३ करोड ४ लाख रुपैयाँ राखेको छ भने १ अर्ब ५३ करोड ३० लाख रुपैया जगेडा कोषमा राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा शुन्य दशमलव ८५ प्रतिशतले घटेर शुन्य दशमलव ९६ प्रतिशतका कायम भएको छ भने जोखिमयुक्त सम्पति शुन्य दशमलव ५ प्रतिशतले बढेर ११ दशमलव ८७ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी २१ दशमलव ६९ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ६५ दशमलव १५ रुपैयाँ, तरलता अनुपात २२ दशमलव ३४ प्रतिशत र मूल्य आम्दानी अनुपात १६ दशमलव ७४ गुणा रहेको छ ।

कुमारी बैंकको नाफा पौने १४ करोड 
kumari bankकुमारी बैंक लिमिटडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ८५ दशमलव ४१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारीले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । २ अर्ब ६९ करोड चुक्ता पुँजी भएको बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४८ दशमलव ०२ प्रतिशतले बढेर २६ करोड २५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा १ सय ४० दशमलव ६२ प्रतिशतले बढेर १५ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकले निक्षेपमा १७ दशमलब ६४ प्रतिशतले वृद्धि गरी ४० अर्ब ३५ करोड ६९ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १८ दशमलव ५१ प्रतिशतले बढाएर ३२ अर्ब ४१ करोड ११ लाख रुपैयाँ लगानी गरेको छ । यो अवधिमा ५ करोड ७८ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको कुमारी बैंकले प्रोभिजनमा ६ करोड २६ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा १ दशमलव २६ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ११ दशमलव ३३ प्रतिशत रहेको छ । कुमारी बैंकको प्रति शेयर आम्दानी ३१ दशमलव ४९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ५९ गुणा, प्रति शेयर नेटवर्थ रु १ सय ५५ दशमलव ६४ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ५२ प्रतिशत रहेको छ ।

मेगा बैंकको नाफा १४ करोड ६९ लाख
mega bankमेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३ दशमलव ८० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेगाले ८ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । ३ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी भएको मेगा बैंकले निक्षेपमा ६३ दशमलव ६३ प्रतिशतले वृद्धि गरी ३६ अर्ब ७७ करोड ४१ लख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ३१ अर्ब ८१ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको सोहि अवधिभन्दा ७२ दशमलव २२ प्रतिशतले बढी हो । त्यस्तै, बैंकको खुद व्याज आम्दानी ७९ दशमलव ७९ प्रतिशतले बढेर ३५ करोड ६७ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ५४ दशमलव ३८ प्रतिशतले बढेर १७ करोड ६२ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ५ करोड ५० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले जगेडाकोषमा १ अर्ब ११ करोड १६ लाख रुपैयाँ राखेको भने प्रोभिजनमा ११ करोड ४८ लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५२ प्रतिशतले घटेर १ दशमलव ०८ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पत्ति २ दशमलव ४५ प्रतिशतले घटेर ११ दशमलव ५८ प्रतिशत कायम भएको छ । असोज मसान्तसम्ममा मेगा बैंकको प्रतिशेयर आम्दानी ४ दशमलव ५३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ दशमलव ३८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३४ दशमलव ३१ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ६९ प्रतिशत रहेको छ ।