नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरुलाई आस्बा प्रणालीमा सहभागी हुन आग्रह गरेको छ । बोर्डले एक सूचना जारी गर्दै आगामी माघ १ गतेदेखि आस्बा प्रणाली लागू गरिने भएकाले बोर्डको धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धि निर्देशिका, २०७३ को व्यवस्था बमोजिम आस्बा प्रणालीमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थालाई यथाशीघ्र निवेदन दिन आग्रह गरेको हो ।
आस्बा प्रणालीमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरु निम्न योग्यता पुगेको हुनुपर्नेछ :
क) नेपाल राष्ट्र बैंकबाट क वा ख वर्गको इजाजत प्राप्त गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापुँजी कायम गरेको, प्रतिसेयर चुक्तापुँजीभन्दा प्रतिसेयर नेटवर्थ बढी भएको,
ख) कम्तीमा पाँच वर्ष सञ्चालनमा रहेको र कम्तीमा पछिल्लो दुई वर्ष खुद नाफामा सञ्चालनमा रहेको,
ग) निष्कृय कर्जा ५ प्रतिशतभन्दा कम रहेको, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएको भएको त्यसको फुकुवा भएको तीन वर्ष पूरा भएको,
घ) काठमाडौँ उपत्यकाभित्र कम्तीमा चार वटा शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचिकृत भएको,
ङ) बैंक/वित्तीय संस्थाको प्रबन्धपत्र वा नियमावलीमा धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धि कार्य गर्न सक्ने व्यवस्था उल्लेख भएको,
बैंक/वित्तीय संस्थाको प्रबन्धपत्र वा नियमावलीमा धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धि कार्य गर्न सक्ने व्यवस्था उल्लेख नभएको भएपनि यो निर्देशिका प्रारम्भ भएको एक वर्षसम्म यस निर्देशिका बमोजिम धितोपत्र खरिदको दरखास्त संकलन कार्यसम्बन्धि अनुमति दिन बाधा नपुग्ने समेत धितोपत्र बोर्डले उल्लेख गरेको छ ।
धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो, छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरिद गर्न सक्ने व्यवस्थ ागर्ने उद्देश्यले आस्बा प्रणाली लागू गर्न लागेको बोर्डले जनाएको छ ।