बैंकिङ खबर/ अर्जेन्टीनाको केन्द्रीय बैंकले मुद्रास्फितिको समस्यासँग जुध्न र देशको नगद आपूर्तिलाई फ्रिज गर्न समानान्तर विदेशी मुद्रा विनिमय बजारमा अमेरिकी डलर बिक्री गर्ने भएको छ ।
अर्जेन्टीनाको आर्थिक मन्त्री लुईस कापुटोले आफ्नो एक्स अकाउन्टमार्फत नयाँ रणनीतिबारे जानकारी दिएका हुन् । उनले यो नयाँ रणनीतिलाई बढ्दो महङ्गीलाई घटाउने प्रक्रियाका रुपमा व्याख्या गरेका छन् । उनले सोमबारदेखि समानान्तर विदेशी मुद्रा विनिमय बजारमा अमेरिकी डलर बिक्री गरिने बताएका छन् ।
‘अहिले अर्जेन्टीनामा कुनै पनि माध्यमबाट नयाँ नोट निष्कासन भएको छैन । यो एउटा ऐतिहासिक कार्य हो,’कापुटोले एउटा रेडियो अन्तर्वार्तमा भने,‘हामी मुद्रास्फितीलाई केहि सानो अंकले पराजित गर्दै छौं’ ।
विगत ५ महिनादेखि निरन्तर घटिरहेको मुद्रास्फिती जुन महिनामा भने केहि बढेको रिपोर्ट सार्वजनिक भएसँगै यो नयाँ घोषणा भएको हो ।
अर्जेन्टीना सरकारले लिने भनिएको नयाँ रणानीतिको उदेश्य देशको नगद आपूर्ति स्थिर राख्नु, मुद्रास्फिती तल झार्नु र अर्जेन्टीनाको आधिकारिक र समानान्तर विनियमदरको अन्तर घटाउनु रहेको जनाइएको छ ।
गत शुक्रबार एक अमेरिकी डलरको आधिकारिक विनियमदर ९१९.५ पेसो(अर्जेन्टीनाको मुद्रा)कायम भएको छ भने समानान्तर विनियम बजार‘सीसीएल’मा भने १ हजार ४१६.२ पेसो कायम छ ।
अर्जेन्टीनाको राष्ट्रपतिमा जेभियर मिली निर्वाचित भएसँगै अर्जेन्टीनाको बढ्दो मुद्रास्फितीमा नाटकीय कमी आएको छ । गत डिसेम्बर महिनामा २५.५ प्रतिशत रहेको अर्जेन्टीनाको मुद्रास्फितीदर मे महिनामा भने ४.२ प्रतिशतमा सीमित बनेको छ । जुन महिनामा भने यो ४.६ प्रतिशत कायम छ ।