कहिलो आउला यी कम्पनीको हकप्रद सेयर ?

एभरेष्ट बैंकले राष्ट्र बैंकले तोकेबमोजिम पुँजी पुर्याउनका लागि ७० प्रतिशत बोनस र तीन बराबर एकको अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको छ । बैंकको उक्त प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाबाट पारीत हुन बाँकी छ । हाल बैंकको चुक्तापुँजी दुई अर्ब ७५ करोड रुपैयाँ छ । ७० प्रतिशत बोनस जारी गरेपछि बैंकको चुक्तापुँजी चार अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि तीन बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्दा बैंकको पुँजी ६ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ । 

सिद्धार्थ डेभलपमेन्ट बैंकले ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ । यसअघि नै २४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको बैंकले बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीबाट ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद पारित गर्नका लागि बैंकले आगामी मंसिर २४ गते साधारणसभा बोलाएको छ । उक्त साधारणसभा प्रयोजनका लागि मंसिर ९ गतेदेखि २४ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने बैंकले जनाएको छ । बैंकले हकप्रद निष्काशन हुने मिति तोक्न बाँकी छ । हाल सिद्धार्थको चुक्तापुँजी एक अर्ब १४ करोड ४४ लाख ९० हजार रुपैयाँ छ । २४ प्रतिशत बोनस सेयर जारी गरेपछि बैंकको पुँजी एक अर्ब ४१ करोड ९१ लाख ६७ हजार छ सय रुपैयाँ पुग्नेछ । उक्त पुँजीबाट ६० प्रतिशत हकप्रद सेयर जारी गर्दा बैंकको पुँजी दुई अर्ब २७ करोड छ लाख ६८ हजार दुई सय रुपैयाँ पुग्नेछ ।

अरुण फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीका लागि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । यो हकप्रद पारित गर्नका लागि कम्पनीले मंसिर ३० गते साधारणसभा बस्ने निर्णय गरेको छ । साधारणसभा तथा हकप्रद प्रयोजनका लागि कम्पनीले २२ गतेदेखि ३० गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने जनाएको छ । जसअनुसार, मंसिर २१ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद निष्काशनको मिति भने तोकेको छैन ।

त्यस्तै, सिनर्जी फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीका लागि २५ प्रतिशत अर्थात एक बराबर ०.२५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ करोड ८६ लाख रुपैयाँ बराबरका हकप्रद सेयर निष्काशन गरी चुक्तापुँजी ४७ करोड ४४ लाख नौ हजार रुपैयाँबाट ५९ करोड ३० लाख रुपैयाँ पुर्याउन लागेको हो । कम्पनीको साधारणसभाबाट उक्त हकप्रद पारित पनि भइसकेको छ । यद्यपि, कम्पनीले हकप्रद निष्काशनको मिति तोकेको छैन ।

कञ्चन डेभलपमेण्ट बैंकले ५० प्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले एक सय रुपैंया अंकित दरमा ९ लाख ९० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कञ्चनपुरमा मुख्य कार्यालय रहेको तीन जिल्ले कञ्चन २५ प्रतिशत बोनस र १ दशमलव ३२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकमा पठाएको छ । राष्ट्र बैंकबाट उक्त प्रस्ताव स्वीकृत भए पछि बैंकले साधारण सभा आह्वान गर्ने योजनामा छ । हाल बैंकको चुक्तापुँजी १९ करोड ८० लाख रुपैंया रहेको छ । बोनस र हकप्रद जारी गरेपछि बैंकको चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैंया पुग्नेछ । हकप्रद जारी गर्ने मिति भने तोकिएको छैन । 

मुक्तिनाथ विकास बैंकको ३४ प्रतिशत बोनस र बोनसपछि कायम चुक्तापुँजीबाट ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारणसभाबाट पारित भइसकेको छ । गत कात्तिक २५ गतेसम्म ५० प्रतिशत हकप्रद जारी गरेर मुक्तिनाथले चुक्तापुँजी सवा अर्ब पुर्याएको छ । यसबाट ३४ प्रतिशत बोनस जारी गर्दा बैंकको पुँजी १ अर्ब ५४ करोड २७ लाख १६ हजार २ सय ६० रुपैयाँ पुग्नेछ । यसपछि, ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा बैंकको चुक्तापुँजी दुई अर्ब १५ करोड ९८ लाख रुपैयाँ पुग्नेछ । साधारणसभाले पारित गरेपछि बैंकको हकप्रद निष्काशनको मिति भने तोक्न बाँकी छ । 

सिन्धु विकास बैंकले आफ्ना सेयरधनीलाई १६.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सातौँ साधारणसभाले पारित गरेको छ । साथै, साधारणसभाले ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । बोनस सेयर र हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ४७ करोड १९ लाख रुपैयाँ पुग्नेछ ।

कन्काई विकास बैंक लिमिटेडले पनि २० प्रतिशत बोनस शेयर जारी गरेपछि कायम चुक्तापुँजीको २१४ प्रतिशत अर्थात १ बराबर २.१४ को अनुपातमा हकप्रद शेयर दिने प्रक्रिया अघि बढाएको छ । उक्त प्रस्ताव पारित गर्न आगामी मंसिर २५ गते साधारणसभाले बस्ने निर्णय बैंकले गरेको छ । उक्त प्रयोजनका लागि आगामी मंसिर १० देखि शेयरधनी पुस्तिका बन्द हुनेछ । जसअनुसार, मंसिर ९ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकको बोनस र हकप्रद प्राप्त गर्नेछन् ।

भार्गव विकास बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रक्रिया थालेको छ । शेयर निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले चुक्तापुँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्न लागेको हो । हाल भार्गवको चुक्तापुँजी १२ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी २४ करोड रुपैयाँ पुग्नेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।