November 20th, 2016

नेपालीसँग भएको भारु खेर जान नदिने देउवाको घोषणा

deuba-icनेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीसँग भएको भारतीय रुपैयाँ खेर जान नदिने घोषणा गरेका छन् । सभापति देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्ने बताएका छन् । 

पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक कञ्चनपुर पुगेका नेता देउवाले आफूलाई काँग्रेस कञ्चनपुरले आइतबार भीमदत्तनगरमा अभिनन्दन गरेपछि भने–“नेपालमा रहेको भारु नोटका विषयमा म समस्या समाधानका लागि पहल गर्छु, भारतमा मजदुरी गरेका र सीमा क्षेत्रका जनतासित भएको नोटको व्यवस्थापन हुनु जरुरी छ ।” भारु नोटको व्यवस्थापन हुन नसके नेपाली पनि प्रभावित हुने उनको भनाइ थियो ।

नेता देउवाले स्थानीय तहको निर्वाचनका लागि एकताबद्ध भएर तयारी अवस्थामा बस्न कार्यकर्तालाई आग्रह गरे । “निर्वाचन गराउनु पनि संविधान कार्यान्वयन हो”, देउवाले भने–“यसका लागि तपाईँहरु तयार हुनुस् ।” रासस