November 17th, 2016

भारु समस्याबारे बोल्यो अर्थ समिति : व्यवस्थापनका लागि कुटनीतिक पहल गर्न निर्देशन

in-1000व्यवस्थापिका–संसद्को अर्थसमितिले नेपालीसँग रहेका ५०० र एक हजार दरका भारुको सटही प्रक्रिया सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा विहीबार बसेको अर्थसमितिको बैठकले नेपाली जनतासँग रहेका वैध भारुको व्यवस्थापनका लागि चाँडो पहल गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारुको व्यवस्थापन गर्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिने निर्णय गरेको बताए । बैठकमा सहभागी सांसदले सीमा क्षेत्रका जनताको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले अर्थमन्त्रालय र राष्ट्र बैंकले विशेष पहल गर्नुपर्ने विचार व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरंजीबि नेपालले नेपाली जनतासँग भएका उक्त दरका भारु व्यवस्थापनका लागि भारतीय रिजर्ब बैंकसँग निरन्तर सम्पर्कमा रहेको भन्दै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे । रासस