April 12th, 2024

बैंकिङ घोटालामा भियतनामकी एक महिलालाई मृत्युदण्ड सजाय

बैंकिङ खबर/ भियतनाममा एक अरबपति महिला व्यवसायीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । रियल स्टेट कारोबारी ट्रांग माई लान नामक महिलालाई ठूलो घोटाला काण्डमा मृत्युदण्डको सजाय सुनाइएको हो ।

यो काण्ड भियतनामको इतिहासको अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक अपचलनको घटना भएको जनाइएको छ । यो घोटाला अनुमानित २७ अर्ब डलर रहेको बताइएको छ ।

द गार्डिएनको रिपोर्टले प्रोपटी टाइकुन तथा प्रमुख डेभलपर वान थिन्ह फैटकी प्रेसिडेन्ट ट्रांग माई लानलाई यो घटनाको सम्बन्धमा ५ साताको सुनुवाईपछि मृत्युदण्डको सजाय सुनाइएको जनाएको छ । उनलाई एक दशकभन्दा पनि बढी समयसम्म साइगान कमर्सियल बैंक(एससीबी)को पैसा अलचलन गरेको घटनामा दोषि पाइएको थियो । रिपोर्टमा उनले अपचलन गरेको २७ अर्ब डलर रकम सन् २०२३ मा भियतनामको कुल जीडीपीको ६ प्रतिशत रहेको जनाइएको छ ।

ट्रांग माईले आफ्नो कम्पनीलाई फाइदा पुग्ने गरी सन् २०१२ देखि २०२२ सम्म बैंकबाट गलत तरिकाले ऋण लिएकी थिइन् । उनले ऋणको केहि रकम आफुले राखेकी थिइन् र केहि रकम यो घटनालाई लुकाउनका लागि अडिट अधिकारीहरुलाई घुस दिएकी थिइन् । उनले बैंकबाट दश वर्षको अवधिमा २ हजार सय पटक ऋण लिकी थिइन् । जुन बैंकको कुल कर्जाको ९३ प्रतिशत हुन आउँछ ।

यो मामिलाको सुनुवाईको क्रममा जुरीका ३ जना सदस्य र न्यायधिसको प्यानले अभियोजन पक्षका साथै बचाव पक्षको तर्कका आधारमा मृत्युदण्डको सजाय सुनाएको थियो ।