March 26th, 2024

श्रीलंकाको केन्द्रीय बैंकले घटायो स्थायी निक्षेप र ऋण सुविधा दर

बैंकिङ खबर/श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अंकले घटाएर क्रमश: ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ। केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा पाँच प्रतिशतको वाञ्छित सीमामा कायम राख्ने प्रयास गरिएको छ।

अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पुर्‍याउन आन्तरिक तथा बाह्य आर्थिक घटनाक्रमको विस्तृत मूल्याङ्कन पछि केन्द्रीय बैंकले सोमबार यस्तो निर्णय गरेको हो। यस्तो निर्णय गर्नुका पछाडि कमजोर माग, मुद्रास्फीतिको अवस्था, बाह्य क्षेत्रको दबाब, र ब्याज दरलाई हेरिएको बैंकले जनाएको छ।

आर्थिक गतिविधि निर्धारित लक्ष्यभन्दा तल रहने अनुमान गरिएकाले केन्द्रिय बैंकले अगामी दिनमा मुद्रास्फीतिबाट आउने सम्भावित जोखिमलाई हेरेर विश्लेषण गरिएको जनाइएको छ। केन्द्रीय बैंकको बोर्डले न्युन ब्याज दर, कर्जा विस्तारमा सहजिकरण,वाञ्छित सीमा भित्रको मुद्रास्फीतिलगायत मौद्रिक उपकरणहरूको प्रयोगबाट अर्थतन्त्रलाई सहज बनाउने नीति लिएको छ।

बढ्दो मुद्रास्फीतिको सामना गर्न श्रीलंकाले सन् २०२२ मा ब्याज दरमा उल्लेखनीय वृद्धि गरेको थियो भने सन् २०२३ मा पटक पटक दरहरू घटाएको थियो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]