Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

एक्सट्रिम इनर्जी ड्रिंकको सेवनले मुटुदेखि मिर्गौलासम्म जोखिम !

२०८३ कार्तिक २२ गते

बैंकिङ खबर /  एक्सट्रिम इनर्जी ड्रिंकको सेवन गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छन् । यसमा पाइने क्याफिन र चिनीको अत्यधिक सेवनले शरीरका विभिन्न अंगमा असर पार्न सक्छ। विशेषगरी यसको सेवनले मुटुको धड्कन बढाउन र रक्तचाप उच्च बनाउन सक्छ। कतिपय अवस्थामा मुटुको धड्कन अनियमित हुने जोखिमसमेत रहन्छ।

त्यस्तै, क्याफिनले स्नायु प्रणालीलाई उत्तेजित गर्ने भएकाले बेचैनी, छटपटी, हात काँप्ने र निद्रा नलाग्ने समस्या हुन सक्छ। यसमा चिनीको मात्रा धेरै भए नियमित सेवनले मोटोपना बढाउन सक्छ। टाइप–२ मधुमेह र कलेजोमा बोसो जम्ने जोखिमसमेत बढ्न सक्छ।

त्यस्तै, यसको अम्लीय तत्व र चिनीले दाँतको इनामेल कमजोर बनाउने र दाँत किराले खाने समस्या निम्त्याउन सक्छ। अत्यधिक क्याफिन सेवनले टाउको दुख्ने, वाकवाकी लाग्ने र पाचन प्रणालीमा असहजता पनि उत्पन्न गर्न सक्छ। नियमित सेवन गर्दा क्याफिनको बानी बस्न सक्छ। सेवन अचानक बन्द गर्दा टाउको दुख्ने र थकान महसुस हुन सक्छ।

विशेषगरी बालबालिका, किशोरकिशोरी, गर्भवती महिला तथा मुटु र रक्तचापका समस्या भएका व्यक्तिका लागि यस्ता पेय पदार्थ बढी जोखिमपूर्ण हुन सक्छन्। त्यसैले एक्सट्रिमलगायतका इनर्जी ड्रिंक सेवन गर्दा सावधानी अपनाउन आवश्यक छ। आकर्षक विज्ञापन र क्षणिक ऊर्जाको प्रलोभनमा परेर नियमित सेवन गर्ने बानीबाट बच्नुपर्छ।

सतर्क रहन विभागको आग्रह

 बजारमा इनर्जी ड्रिङ्कको उपलब्धता र प्रयोगसँगै यसको सुरक्षित सेवनबारे प्रश्न उठ्न थालेको छ । विशेषगरी, एउटै व्यक्तिले चिया, कफी, चकलेट र इनर्जी ड्रिङ्कजस्ता विभिन्न स्रोतबाट क्याफिन सेवन गरिरहेको अवस्थामा शरीरमा पुग्ने यसको कुल मात्रा कति छ भन्ने विषय महत्त्वपूर्ण बनेको छ । यही जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिङ्कको उत्पादन, बिक्रीवितरण र सेवनमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार एक्सट्रिम इनर्जी ड्रिंकको सेवन गर्दा क्याफिनसँगै ग्वाराना, टाउरिन, इनोसिटोल, कार्निटिन, बी भिटामिन, चिनी र पानीजस्ता पदार्थ मिसाइएको हुन्छ । यीमध्ये क्याफिन यसको प्रमुख सक्रिय तत्त्व हो । यसले केही समयका लागि शरीरलाई सक्रिय र निद्रा कम भएको महसुस गराउन सक्छ । तर, आवश्यकताभन्दा बढी क्याफिन सेवन गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यसको मात्रा नियन्त्रण गर्न आवश्यक रहेको विभागको भनाइ छ ।

विभागले अन्तर्राष्ट्रिय अध्ययन तथा नियामक निकायका सन्दर्भ दिँदै स्वस्थ वयस्कले सबै स्रोतबाट दैनिक अधिकतम ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्न सक्ने आधार प्रस्तुत गरेको छ । तर, यसलाई सबै व्यक्तिका लागि सुरक्षित सेवनको निश्चित सीमा मान्न मिल्दैन । व्यक्तिको उमेर, स्वास्थ्य अवस्था र क्याफिनप्रतिको संवेदनशीलताअनुसार यसको प्रभाव फरक पर्न सक्छ ।

यसको अर्थ इनर्जी ड्रिङ्कको एउटा क्यान मात्र होइन, दिनभर सेवन गरिने चिया, कफी तथा अन्य क्याफिनयुक्त पदार्थको मात्रा पनि हिसाब गर्नुपर्छ । एउटै दिनमा विभिन्न स्रोतबाट क्याफिन सेवन गर्दा कुल मात्रा अनावश्यक रूपमा बढ्न सक्ने जोखिम रहन्छ ।

नेपालमा इनर्जी ड्रिङ्क उत्पादन तथा बिक्रीवितरण गर्ने १७ वटा उद्योगले सरकारी निकायबाट अनुमति लिएको विभागले जनाएको छ । ती उद्योगका उत्पादनको लेबल विवरण तथा प्रयोगशाला परीक्षण प्रतिवेदनमा क्याफिनको मात्रा मानव उपभोगका लागि तोकिएको सुरक्षित सीमाभित्र रहेको विभागको दाबी छ ।

तर, उत्पादनको क्याफिन मात्रा निर्धारित सीमाभित्र हुनु र सबै उपभोक्ताका लागि त्यसको सेवन सुरक्षित हुनु फरक विषय हुन् । विशेषगरी, निश्चित स्वास्थ्य अवस्था भएका व्यक्तिले सामान्य उपभोक्ताले जस्तै इनर्जी ड्रिङ्क सेवन गर्न मिल्दैन । त्यसैले उत्पादनको गुणस्तर परीक्षणसँगै उपभोक्ताले त्यसको लेबलमा उल्लेखित चेतावनी र सेवनसम्बन्धी निर्देशन पालना गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

विभागले बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क सेवन नगर्न सुझाव दिएको छ । अन्य व्यक्तिले पनि एक दिनमा दुई क्यानभन्दा बढी सेवन नगर्न विभागको आग्रह छ । यहाँ एक क्यानको परिमाण ३३० मिलिलिटरसम्म हुनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, इनर्जी ड्रिङ्कलाई पानी, जुस, दूध तथा मोहीजस्ता पोषणयुक्त पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न विभागले सचेत गराएको छ । अन्य पेय पदार्थमा मिसाएर सेवन गर्नु पनि उचित नहुने उसको सुझाव छ ।

इनर्जी ड्रिङ्कको जोखिम उपभोक्ताको सेवन व्यवहारमा मात्र सीमित छैन । यसको उत्पादन, विज्ञापन र बजारमा बिक्रीवितरण गर्ने कम्पनीहरूको जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । विभागले उत्पादक तथा विक्रेतालाई विज्ञापन गर्नुअघि प्रचलित कानुनअनुसार अनुमति लिन र विज्ञापन तथा उत्पादनको लेबलमा आवश्यक चेतावनी सन्देश राख्न निर्देशन दिएको छ । उपभोक्तालाई सुरक्षित सेवनसम्बन्धी जानकारी उपलब्ध गराउनु पनि उत्पादकको दायित्व रहेको विभागले स्पष्ट पारेको छ ।

यसले इनर्जी ड्रिङ्कको बजार विस्तारसँगै नियमन र उपभोक्ता सचेतना दुवै पक्ष बलियो हुनुपर्ने आवश्यकता देखाएको छ । उत्पादनले सरकारी अनुमति पाएको वा प्रयोगशाला परीक्षणमा निर्धारित मापदण्ड पूरा गरेको भन्दैमा उपभोक्ताले जथाभावी सेवन गर्न मिल्दैन । अर्कोतर्फ, उत्पादकले पनि आकर्षक विज्ञापन र बजार प्रवर्द्धनमा मात्र ध्यान नदिई उत्पादनको वास्तविक संरचना, सेवनको सीमा र सम्भावित जोखिमबारे स्पष्ट जानकारी दिनुपर्छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत काम गरेको पाइएमा कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ । अब उत्पादनको गुणस्तर कायम राख्नुका साथै बजार अनुगमन, विज्ञापनको नियमन र उपभोक्तासम्म सही सूचना पुर्‍याउने काम कति प्रभावकारी हुन्छ भन्ने विषय महत्त्वपूर्ण हुनेछ ।

Ad