
बैंकिङ खबर / नेपाल बैंक लिमिटेडले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत बैंकका ग्राहकले मोबाइल बैंकिङ एपबाटै भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने भएका छन् ।
नेपाल बैंक र फोनपेबीच मंसिर १० गते काठमाडौंस्थित बैंकको प्रधान कार्यालयमा भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख सञ्चालन अधिकृत लेखनाथ भुसाल र फोनपेका प्रमुख व्यवसाय अधिकृत सुमित दासले हस्ताक्षर गरेका छन् ।
नयाँ सेवामार्फत ग्राहकले नगदरहित भुक्तानीलाई थप सहज र प्रभावकारी रूपमा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । फोनपे भर्चुअल क्रेडिट कार्डमा सहज आवेदन प्रक्रिया, विभिन्न भुक्तानी सुविधा, वास्तविक समयमै कारोबार अनुगमन गर्न सकिने व्यवस्था, ४५ दिनसम्म ब्याजरहित अवधि तथा लचिलो भुक्तानी विकल्प उपलब्ध छन् ।
यस सेवाले डिजिटल भुक्तानीको प्रयोग विस्तार गर्नुका साथै ग्राहकलाई आधुनिक बैंकिङ तथा भुक्तानी प्रणालीमा जोड्न सहयोग पुग्ने बैंकको विश्वास छ । भर्चुअल कार्ड सेवाले भौतिक कार्डबिना नै डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्नेछ ।
नेपाल बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवालाई प्राथमिकता दिँदै विभिन्न प्रविधिमैत्री सुविधा विस्तार गरिरहेको छ । बैंकका अनुसार हाल करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भइरहेका छन् ।
बैंकले देशभर २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । डिजिटल माध्यमबाट बैंकिङ सेवा विस्तार गर्ने रणनीतिअनुरूप भर्चुअल क्रेडिट कार्ड सेवा थप गरिएको बैंकले जनाएको छ ।