बैंकिङ खबर / नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको आज शुक्रबार सम्पन्न ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई आगामी कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।
त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन् । यसअघि संघको कार्यसमितिमा उपाध्यक्ष रहेका रेग्मी अध्यक्षमा चयन भएका हुन् भने सदस्यको जिम्मेवारीमा रहेका खनाल उपाध्यक्ष बनेका छन् ।
संघको नेतृत्व चयनसँगै वाणिज्य बैंकहरूको साझा संस्थामा नयाँ कार्यसमितिले जिम्मेवारी सम्हाल्ने भएको छ । यसअघि संघको अध्यक्षको जिम्मेवारी माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले सम्हाल्दै आएका थिए । उनले दुई कार्यकाल पूरा गरेपछि नेतृत्व परिवर्तन भएको हो ।
नेपाल बैंकर्स संघ वाणिज्य बैंकहरूको छाता संगठन हो । बैंकिङ क्षेत्रका नीतिगत विषय, वित्तीय प्रणालीका चुनौती, तरलता व्यवस्थापन, ब्याजदर, कर्जा विस्तार तथा नियामकीय व्यवस्थासम्बन्धी विषयमा संघले बैंकहरूबीच समन्वय गर्दै आएको छ ।
नयाँ नेतृत्व चयनसँगै बैंकिङ क्षेत्रका समसामयिक चुनौती, वित्तीय स्थायित्व, डिजिटल बैंकिङ विस्तार र बैंकिङ व्यवसायको दिगो विकासमा संघको भूमिका थप महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।