बैंकिङ खबर / लामो समयदेखि लगानीको वातावरण, नीतिगत अनिश्चितता र कर प्रशासनका जटिलताका कारण अपेक्षित रूपमा विस्तार हुन नसकेको निजी लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले कानुनी तथा नीतिगत सुधारको तयारी गरेको छ । लगानी प्रवर्द्धन, व्यवसाय सञ्चालनमा सहजता र कर प्रणालीलाई थप पारदर्शी बनाउने लक्ष्यसहित सरकारले आयकर ऐन, २०५८ का ३० वटा दफा तथा व्यवस्थामा संशोधन गर्न लागेको हो ।
सरकारले लगानी तथा पूर्वाधार विकासमार्फत अर्थतन्त्र सुधार गर्ने उद्देश्यले अध्यादेशमार्फत ६३ वटा ऐनका ५०० भन्दा बढी दफा संशोधन गर्ने तयारी गरेको छ । त्यसको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको आयकर ऐन संशोधनको प्रारम्भिक मस्यौदाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई करसम्बन्धी निश्चितता प्रदान गर्ने र लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ ।
प्रस्तावित व्यवस्थामध्ये सबैभन्दा महत्त्वपूर्ण करसम्बन्धी नीतिगत निश्चितता हो । मस्यौदाअनुसार कर दायित्व सिर्जना गर्ने, करको दर बढाउने वा कर छुट तथा सुविधा घटाउने गरी गरिने कानुनी संशोधन त्यसअघि सम्पन्न भइसकेको कारोबार वा प्राप्त भइसकेको आयमा लागू हुने छैन । यसले लगानीकर्तालाई विगतका कारोबारमा पछि नयाँ कर दायित्व सिर्जना हुने जोखिमबाट जोगाउने अपेक्षा गरिएको छ ।
वैदेशिक लगानी आकर्षित गर्न विदेशी लगानीसँग सम्बन्धित कर व्यवस्थाको एकीकृत विवरण विद्युतीय माध्यमबाट सार्वजनिक तथा अद्यावधिक गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । लाभांश, ब्याज, रोयल्टी, सेयर हस्तान्तरण, स्थायी संस्थापन र दोहोरो कराधान निवारण सम्झौतासम्बन्धी कर व्यवस्थाबारे लगानीकर्ताले एउटै माध्यमबाट जानकारी प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, प्रचलित कानुनबमोजिम स्वीकृत वा अभिलेखीकृत विदेशी ऋणको बाँकी साँवा रकम सेयरमा परिणत गरिएकै कारणले मात्र सम्बन्धित उद्योग वा कम्पनीको करयोग्य आय नमानिने प्रस्ताव गरिएको छ । यसले विदेशी ऋणमार्फत लगानी गरेका उद्योग तथा कम्पनीलाई पुँजी संरचना व्यवस्थापन गर्न सहज बनाउन सक्नेछ ।
नयाँ लगानीका क्षेत्र विस्तार गर्न विशिष्टीकृत लगानी कोषलाई पनि कर सहुलियत दिने प्रस्ताव गरिएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत यस्ता कोषले लगानीबाट आर्जन गरेको आयमा कोषको तहमा कर नलगाई सम्बन्धित इकाईधनीको वास्तविक आर्थिक हितको अनुपातमा आय गणना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । कोषबाट इकाईधनीलाई रकम वितरण गर्दा सोही आयमा पुनः कर कट्टीसमेत गर्नुपर्ने छैन ।
व्यवसाय गाभ्ने तथा प्राप्ति गर्ने प्रक्रियालाई पनि करमैत्री बनाउने सरकारको तयारी छ । स्वीकृत मर्जर तथा एक्विजिसन प्रक्रियामा सेयरधनीले आफ्नो सेयरको बदलामा अर्को निकायको सेयर मात्र प्राप्त गरेमा त्यस्तो कारोबारलाई तत्काल सम्पत्ति निसर्ग मानी कर नलगाउने प्रस्ताव गरिएको छ । यसले व्यवसाय विस्तार, एकीकरण तथा संस्थागत पुनर्संरचनालाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी, कम्तीमा ५१ प्रतिशत महिला स्वामित्व रहेको र वास्तविक व्यवस्थापनसमेत महिलाबाट भएको नयाँ साना उद्यमलाई कारोबार सुरु भएको पहिलो तीन आय वर्षसम्म लाग्ने आयकरमा ५० प्रतिशत छुट दिने प्रस्ताव गरिएको छ । धितोपत्र बजारमा सूचीकृत भई १५ प्रतिशत कर छुट पाउने निकायको सूचीमा हवाई उद्योगलाई समेत समावेश गर्ने तयारी छ ।
लगानीकर्तालाई कर प्रशासनको झन्झटबाट मुक्त गराउन कर फिर्ता प्रक्रियालाई समेत सरल बनाउने प्रस्ताव गरिएको छ । विभागको अभिलेखबाट बढी कर दाखिला भएको पुष्टि भएमा छुट्टै निवेदनबिना नै आय विवरण पेस भएको ३० दिनभित्र करदाताको प्रमाणित बैंक खातामा रकम फिर्ता गर्नुपर्नेछ । समयमै रकम फिर्ता नभए ब्याजसमेत उपलब्ध गराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
करदाताले कर निर्धारणसम्बन्धी निर्णयमा चित्त नबुझाएमा पुनरावलोकनका लागि अर्थ मन्त्रालयअन्तर्गत स्वतन्त्र प्रशासकीय पुनरावलोकन इकाई गठन गर्ने प्रस्ताव पनि मस्यौदामा छ । उक्त इकाईले निवेदन प्राप्त भएको ६० दिनभित्र निर्णय दिनुपर्नेछ । यसले कर प्रशासनमा निष्पक्षता र पारदर्शिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, करसम्बन्धी सम्पूर्ण सेवा एकीकृत विद्युतीय प्रणालीबाट उपलब्ध गराउने र प्रणालीमा प्राविधिक समस्या आएका कारण करदातालाई जरिवाना, ब्याज वा विलम्ब शुल्क नलगाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
सरकारको यो तयारीले लामो समयदेखि लगानी विस्तारमा देखिएका नीतिगत तथा प्रशासनिक अवरोध कम गर्ने लक्ष्य राखेको छ । विशेषगरी करसम्बन्धी निश्चितता, विदेशी लगानीको सहजीकरण, व्यवसाय एकीकरणमा कर छुट तथा डिजिटल कर प्रशासनको विस्तारले लगानीकर्ताको विश्वास बढाउन सक्ने देखिन्छ ।
यद्यपि, लगानीको वातावरण सुधारका लागि करसम्बन्धी व्यवस्था मात्र पर्याप्त हुँदैन । नीतिगत स्थिरता, प्रशासनिक प्रभावकारिता, पूर्वाधारको उपलब्धता र लगानी सुरक्षाको प्रत्याभूति पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् । प्रस्तावित सुधारहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा निजी तथा विदेशी लगानी विस्तारका लागि सकारात्मक आधार तयार हुन सक्छ ।