Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा दाबी भुक्तानीमा ढिलाइ गरे प्राधिकरणमा उजुरी गर्न सकिने

२०८३ मंसिर १० गते

बैंकिङ खबर / बीमा कम्पनीले दाबी भुक्तानीमा ढिलाइ गरे वा भुक्तानी दिन आनाकानी गरे बीमितले आवश्यक प्रमाणसहित नेपाल बीमा प्राधिकरणमा उजुरी दिन सक्ने भएका छन् । प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियामा देखिने ढिलाइ तथा समस्यालाई सम्बोधन गर्न विद्यमान कानुनी व्यवस्थाबारे जानकारी गराउँदै बीमितलाई आफ्नो अधिकार प्रयोग गर्न आग्रह गरेको हो ।

प्राधिकरणले मंसिर ९ गते जारी गरेको सूचनामार्फत बीमा क्षेत्रलाई मर्यादित, पारदर्शी, विश्वसनीय तथा बीमितमैत्री बनाउन विभिन्न नियामकीय तथा नीतिगत व्यवस्था कार्यान्वयनमा रहेको जनाएको छ । बीमा ऐन, नियमावली तथा प्राधिकरणबाट जारी निर्देशिका र परिपत्रअनुसार बीमा कम्पनीले तोकिएको समयसीमाभित्र दाबी फर्छ्योट गर्नुपर्ने व्यवस्था छ ।

तर, बीमा कम्पनी, कम्पनीका कर्मचारी वा बीमा सर्भेयरले दाबी भुक्तानी प्रक्रियामा ढिलाइ गरेमा वा भुक्तानी नै नगरेमा बीमितले आवश्यक कागजात तथा प्रमाणसहित प्राधिकरणमा उजुरी दिन सक्नेछन् । यसका लागि प्राधिकरणको केन्द्रीय कार्यालय वा प्रादेशिक कार्यालयमा सम्पर्क गर्न सकिने व्यवस्था रहेको छ ।

बीमा ऐन, २०७९ को दफा १२८ मा बीमालेखमा उल्लेख भएको अवधिभित्र बीमकले दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले प्राधिकरणसमक्ष उजुरी गर्न सक्ने व्यवस्था छ ।

उक्त दफाअनुसार उजुरी प्राप्त भएपछि प्राधिकरणले आवश्यक छानबिन गरी सम्बन्धित बीमा कम्पनीलाई जवाफ पेस गर्न १५ दिनको समय दिन सक्नेछ । कम्पनीबाट प्राप्त जवाफ तथा प्रमाणका आधारमा प्राधिकरणले बीमित र बीमा कम्पनीबीच मिलापत्र गराउन, दाबी भुक्तानी गर्न आदेश दिन वा बीमितलाई क्षति पुगेको अवस्थामा मनासिब क्षतिपूर्ति भराउन आदेश दिन सक्ने कानुनी व्यवस्था छ ।

त्यस्तै, बीमा दाबी भुक्तानी नदिएको कारण कम्पनीविरुद्ध परेको उजुरीमा दाबी रकम भुक्तानी गर्नुपर्ने ठहर भएमा बीमा रकमका अतिरिक्त उजुरी परेको मितिदेखि वार्षिक १० प्रतिशतका दरले ब्याज तथा कानुनी उपचारका लागि लागेको वास्तविक खर्चसमेत बीमितलाई भराउनुपर्ने व्यवस्था ऐनमा उल्लेख छ ।

प्राधिकरणले बीमितको पहुँच सहज बनाउन केन्द्रीय तथा प्रादेशिक कार्यालयमार्फत दाबी भुक्तानीसम्बन्धी समस्या समाधानका लागि सहजीकरण सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । यसका साथै हेलो सरकारमार्फत प्राप्त हुने बीमासम्बन्धी गुनासोलाई समेत यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ ।

बीमा दाबी भुक्तानी बीमा व्यवसायको विश्वसनीयता र बीमितको अधिकारसँग प्रत्यक्ष जोडिएको विषय हो । दाबी भुक्तानीमा हुने ढिलाइ तथा प्रक्रियागत जटिलताले बीमाप्रतिको विश्वासमा असर पार्न सक्ने भएकाले प्राधिकरणले उजुरी तथा गुनासो सुनुवाइको व्यवस्थाबारे बीमितलाई सचेत गराएको हो ।

Ad