
बैंकिङ खबर / ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने गल्फ प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्ध विस्तार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबीच व्यावसायिक र सामाजिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ । प्रतियोगितामार्फत खेलकुद, प्रकृति र आपसी सद्भावलाई एकै ठाउँमा जोड्ने बैंकको अपेक्षा छ ।
प्रतियोगिताको आकर्षणका रूपमा होल इन वान गर्ने खेलाडीलाई आधुनिक स्कोडा एसयूभी गाडी प्रदान गरिनेछ । त्यसैगरी, अन्य विधाका विजेताहरूका लागि चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कारको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एमएडब्लू तथा बाराहसिंघेको सहकार्य रहेको छ । ग्लोबल आइएमई बैंकले बैंकिङ सेवासँगै विभिन्न सामाजिक तथा खेलकुद गतिविधिमार्फत संस्थागत सम्बन्ध विस्तार र सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत काम गर्दै आएको छ ।
बैंकले हाल मुलुकका ७७ वटै जिल्लामा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ । बैंकका अनुसार देशभर ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ सेवा केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालय गरी एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ । त्यस्तै, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका सम्मानसमेत प्राप्त गरेको बैंकले जनाएको छ ।