Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

विश्व बैंकिङको शक्ति बनेकी आना बोटिन, सान्तान्देरलाई डिजिटल युगमा लैजाँदै

२०८३ कार्तिक १७ गते

बैंकिङ खबर /  विश्व बैंकिङ क्षेत्रमा नेतृत्व, अन्तर्राष्ट्रिय विस्तार र डिजिटल रूपान्तरणको चर्चा गर्दा स्पेनकी आना बोटिनको नाम अग्रस्थानमा आउँछ । विश्वका ठूला बैंकिङ समूहहरूमध्ये एक बान्को सान्तान्देरको कार्यकारी अध्यक्षका रूपमा उनले बैंकलाई युरोपेली बजारमा मात्र सीमित नराखी अमेरिका र ल्याटिन अमेरिकासम्म विस्तार गर्ने रणनीतिक नेतृत्व गरिरहेकी छन् । चार दशकभन्दा लामो बैंकिङ अनुभव हासिल गरेकी बोटिन अहिले परम्परागत बैंकिङलाई प्रविधि, कृत्रिम बुद्धिमत्ता र विश्वव्यापी वित्तीय सञ्जालसँग जोड्ने अभियानमा सक्रिय छन् ।

सन् १९६० मा स्पेनको सान्तान्देर सहरमा जन्मिएकी बोटिन प्रसिद्ध बैंकिङ परिवारकी सदस्य हुन् । उनका पिता इमिलियो बोटिन पनि सान्तान्देर बैंकका लामो समयसम्म अध्यक्ष थिए । पारिवारिक रूपमा बैंकिङ क्षेत्रसँग जोडिए पनि उनले आफ्नो व्यावसायिक यात्रा भने अमेरिकाबाट सुरु गरिन् । पेन्सिल्भेनियास्थित ब्रिन मार कलेजबाट अर्थशास्त्रमा स्नातक गरेपछि उनले सन् १९८० मा न्यूयोर्कस्थित अमेरिकी लगानी बैंक जेपी मोर्गनमा काम सुरु गरिन् ।

जेपी मोर्गनमा आठ वर्ष काम गर्दा उनले अन्तर्राष्ट्रिय वित्तीय बजार, लगानी र बैंकिङ व्यवस्थापनको अनुभव हासिल गरिन् । त्यसपछि सन् १९८८ मा उनी पारिवारिक बैंकिङ समूह सान्तान्देरमा आबद्ध भइन् । बैंकमा प्रवेश गरेपछि उनले विभिन्न व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै ल्याटिन अमेरिकी बजारमा समूहको व्यवसाय विस्तारमा काम गरिन् । सन् २००२ मा उनलाई स्पेनको बैंक बानेस्तोको कार्यकारी अध्यक्ष बनाइयो भने सन् २०१० मा सान्तान्देर यूकेको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइयो ।

बेलायतमा रहँदा उनले बैंकको व्यवसाय विस्तार र संस्थागत पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् । तीनवटा पूर्ववर्ती वित्तीय संस्थालाई एउटै बैंकिङ संरचनामा एकीकृत गर्ने प्रक्रियामा उनको नेतृत्व अनुभव उपयोगी बन्यो । विभिन्न देशका बैंकिङ प्रणाली, ग्राहक व्यवहार र नियामकीय वातावरणमा काम गरेको यही अनुभवले उनलाई सान्तान्देरको सर्वोच्च नेतृत्वका लागि तयार पारेको थियो ।

सन् २०१४ मा उनका पिता इमिलियो बोटिनको निधन भएपछि आना बोटिनलाई बान्को सान्तान्देरको कार्यकारी अध्यक्ष नियुक्त गरियो । त्यसयता उनले बैंकको व्यावसायिक रणनीति, संस्थागत संरचना र अन्तर्राष्ट्रिय विस्तारलाई नयाँ दिशामा अघि बढाउँदै आएकी छन् । उनी सान्तान्देरको सञ्चालक समितिको अध्यक्ष तथा कार्यकारी नेतृत्वको प्रमुख हुन् । यद्यपि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी भने हेक्टर ग्रिसीले सम्हालिरहेका छन् ।

उनको नेतृत्वमा सान्तान्देरले आफूलाई विभिन्न देशमा छुट्टाछुट्टै संरचनामा सञ्चालन हुने बैंकिङ समूहबाट थप एकीकृत अन्तर्राष्ट्रिय वित्तीय संस्थाका रूपमा विकास गर्ने प्रयास गरेको छ । बैंकले आफ्नो व्यवसायलाई खुद्रा तथा व्यावसायिक बैंकिङ, डिजिटल बैंकिङ, कर्पोरेट तथा लगानी बैंकिङ, सम्पत्ति व्यवस्थापन र भुक्तानी सेवाजस्ता प्रमुख क्षेत्रमा केन्द्रित गरेको छ । विभिन्न बजारमा रहेका व्यवसायलाई साझा प्रविधि र सञ्चालन प्रणालीमार्फत जोड्ने रणनीति पनि अघि बढाइएको छ ।

अमेरिका र बेलायतमा ठूलो लगानी

बोटिनको पछिल्लो रणनीतिक प्राथमिकतामध्ये अमेरिका र बेलायतमा सान्तान्देरको उपस्थिति थप बलियो बनाउनु हो । यसै रणनीतिअन्तर्गत बैंकले सन् २०२६ अप्रिल ३० मा बेलायतको टीएसबी बैंक अधिग्रहण पूरा गरेको थियो । करिब २ अर्ब ८६ करोड ७० लाख पाउन्ड नगदमा भएको यस कारोबारले सान्तान्देरलाई बेलायतको खुद्रा बैंकिङ बजारमा थप बलियो बनाएको छ । टीएसबीका करिब ५० लाख ग्राहक र व्यापक शाखा सञ्जाल सान्तान्देरको बेलायती व्यवसायमा जोडिएका छन् ।

त्यस्तै, अमेरिकामा व्यवसाय विस्तार गर्न सान्तान्देरले वेबस्टर फाइनान्सियल कर्पोरेसन अधिग्रहण गर्ने सम्झौता गरेको थियो । करिब १२ अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको यो कारोबार सन् २०२६ अगस्ट २० मा पूरा भएको हो । वेबस्टरको व्यावसायिक बैंकिङ तथा निक्षेप आधारले अमेरिकामा सान्तान्देरको बजार उपस्थिति थप विस्तार गरेको छ । यसबाट बैंकको उपभोक्ता कर्जा व्यवसायसँगै व्यावसायिक बैंकिङ क्षमता पनि बलियो हुने अपेक्षा गरिएको छ ।

यी दुई अधिग्रहणले सान्तान्देरको अन्तर्राष्ट्रिय विस्तार रणनीतिमा ठूलो परिवर्तन ल्याएका छन् । बैंकले नयाँ बजारमा शून्यबाट व्यवसाय निर्माण गर्नुको सट्टा स्थापित बैंक तथा ग्राहक आधारलाई आफ्नो विश्वव्यापी सञ्जालसँग जोड्ने बाटो अपनाएको देखिन्छ । यसले ग्राहक संख्या, निक्षेप आधार र व्यावसायिक पहुँच विस्तार गर्ने अवसर दिएको छ ।

१८ करोडबाट २१ करोड ग्राहक पुर्‍याउने लक्ष्य

सान्तान्देरले सन् २०२६ देखि २०२८ सम्मका लागि सार्वजनिक गरेको रणनीतिक योजनामा ग्राहक संख्या २१ करोडभन्दा बढी पुर्‍याउने लक्ष्य राखेको छ । सन् २०२५ को अन्त्यमा बैंकका ग्राहक करिब १८ करोड थिए । टीएसबी र वेबस्टर अधिग्रहण तथा आन्तरिक व्यवसाय विस्तारबाट ग्राहक संख्या बढाउँदै लैजाने बैंकको योजना छ ।

त्यसैगरी, सन् २०२८ सम्म वार्षिक नाफा २० अर्ब युरोभन्दा बढी पुर्‍याउने र मूर्त इक्विटीमा प्रतिफल (RoTE) २० प्रतिशतभन्दा माथि लैजाने लक्ष्य पनि राखिएको छ । यी लक्ष्य पूरा गर्न बैंकले डिजिटल बिक्री बढाउने, सञ्चालन खर्च घटाउने, ग्राहक सेवामा प्रविधिको प्रयोग विस्तार गर्ने र उच्च प्रतिफल दिने बजारमा पूँजी केन्द्रित गर्ने रणनीति लिएको छ ।

यस योजनाको अर्को महत्त्वपूर्ण पक्ष डिजिटल बैंकिङ हो । सान्तान्देरले शाखा सञ्जाललाई पूर्ण रूपमा विस्थापित गर्नेभन्दा पनि शाखा र डिजिटल माध्यमलाई एकसाथ अघि बढाउने अवधारणा लिएको छ । मोबाइल तथा अनलाइन बैंकिङ, डिजिटल भुक्तानी, खुला बैंकिङ सेवा र प्रविधिमा आधारित ग्राहक सेवाको विस्तारलाई प्राथमिकता दिइएको छ । बैंकको डिजिटल प्लेटफर्म ओपनबैंकलाई विभिन्न बजारमा विस्तार गर्ने योजना पनि यही रणनीतिको हिस्सा हो ।

एआईबाट करोडौँ युरोको व्यावसायिक मूल्य

आना बोटिनको पछिल्लो नेतृत्वमा कृत्रिम बुद्धिमत्ता (एआई) पनि बैंकिङ रूपान्तरणको महत्त्वपूर्ण आधार बनेको छ । ग्राहक सेवा, कारोबार विश्लेषण, जोखिम व्यवस्थापन, ठगी पहिचान र सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउन बैंकले एआईको प्रयोग बढाइरहेको छ ।

सान्तान्देरले सन् २०२६ अक्टोबर २८ मा सार्वजनिक गरेको पहिलो नौ महिनाको वित्तीय विवरणअनुसार एआई प्रयोगबाट उक्त अवधिमा १९ करोड ४० लाख युरो बराबरको व्यावसायिक मूल्य सिर्जना भएको जनाएको छ । बैंकले एआईलाई केवल नयाँ प्रविधिका रूपमा नभई आम्दानी बढाउने, खर्च घटाउने र कर्मचारीको कार्यक्षमता सुधार गर्ने व्यावसायिक उपकरणका रूपमा अघि बढाएको छ ।

बैंकको पछिल्लो वित्तीय प्रदर्शनमा पनि विस्तार रणनीतिको प्रभाव देखिएको छ । सन् २०२६ को पहिलो नौ महिनामा सान्तान्देरको अन्तर्निहित नाफा ११ अर्ब २० करोड युरो पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशत बढी हो । यस अवधिमा बैंकले १७ लाख होइन, १ करोड ७० लाख नयाँ ग्राहक थपेको जनाएको छ । ग्राहक संख्या बढेर १८ करोड ९० लाख पुगेको छ । टीएसबी र वेबस्टरको अधिग्रहणसँगै बैंकको व्यवसाय र ग्राहक आधार विस्तार भएको हो ।

तर, बैंकको विस्तारसँगै चुनौती पनि छन् । नयाँ बैंक अधिग्रहणपछि फरक प्रविधि प्रणाली, कर्मचारी संरचना, ग्राहक सेवा र संस्थागत संस्कृतिलाई एकीकृत गर्नुपर्ने हुन्छ । त्यसैगरी, विभिन्न देशको नियामकीय व्यवस्था, कर्जा जोखिम र आर्थिक अवस्थाले पनि बैंकको नाफा तथा पूँजीमा प्रभाव पार्न सक्छन् । सान्तान्देरको पछिल्लो वित्तीय विवरणमा ल्याटिन अमेरिकी बजार, विशेषगरी ब्राजिलमा देखिएको कमजोरी र कर्जा नोक्सानी व्यवस्थामा भएको वृद्धिले विस्तारसँगै जोखिम व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण रहेको देखाएको छ ।

विश्व वित्तीय क्षेत्रको नीतिगत नेतृत्वमा पनि सक्रिय

आना बोटिनको भूमिका सान्तान्देरको नेतृत्वमा मात्र सीमित छैन । उनी अन्तर्राष्ट्रिय वित्तीय संस्था (Institute of International Finance-IIF) की अध्यक्ष हुन् । विश्वका बैंक तथा वित्तीय संस्थालाई समेट्ने यस संस्थामार्फत उनी अन्तर्राष्ट्रिय बैंकिङ नियमन, वित्तीय स्थायित्व, पूँजी बजार र विश्व अर्थतन्त्रसँग सम्बन्धित नीतिगत बहसमा सहभागी हुँदै आएकी छन् ।

त्यसैगरी, उनी कोका-कोला कम्पनीको सञ्चालक समिति सदस्य तथा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) को सीईओ सल्लाहकार समितिमा आबद्ध छन् । उच्च शिक्षाले आर्थिक तथा सामाजिक विकासमा पुर्‍याउने योगदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले उनले स्थापना गरेको फाउन्डेसनमार्फत शिक्षा क्षेत्रमा पनि काम गर्दै आएकी छन् ।

जेपी मोर्गनबाट सुरु भएको उनको करियर आज विश्व बैंकिङको रणनीतिक नेतृत्वसम्म आइपुगेको छ । पारिवारिक बैंकिङ विरासत, विभिन्न देशमा हासिल गरेको व्यावसायिक अनुभव र संस्थागत रूपान्तरणको प्रयासले उनलाई अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रकी प्रभावशाली महिला नेतृत्वकर्ताका रूपमा स्थापित गरेको छ । अहिले उनको अगाडि रहेको मुख्य चुनौती भनेको अधिग्रहणबाट थपिएको विशाल व्यवसायलाई प्रभावकारी रूपमा एकीकृत गर्दै डिजिटल प्रविधिको उपयोगमार्फत नाफा, ग्राहक सेवा र बैंकको प्रतिस्पर्धात्मक क्षमता एकसाथ बढाउनु हो ।

Ad