
बैंकिङ खबर / बंगलादेशको बैंकिङ क्षेत्र सुधार तथा वित्तीय प्रणालीको नियमन क्षमता बलियो बनाउन विश्व बैंकले ४५० मिलियन अमेरिकी डलर उपलब्ध गराउने भएको छ । यसका लागि बंगलादेश सरकार र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बीच ३० अक्टोबरमा वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ ।
‘फाइनान्सियल सेक्टर सपोर्ट प्रोजेक्ट–२’ अन्तर्गत हुने उक्त वित्तीय सहयोगले बंगलादेशको वित्तीय क्षेत्रको सुरक्षा प्रणाली सुदृढ गर्ने, नियामक निकायको सुपरिवेक्षण क्षमता बढाउने र समस्यामा रहेका बैंकहरूको पुनर्संरचनामा सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
सम्झौतामा बंगलादेशको आर्थिक सम्बन्ध विभागका सचिव मोहम्मद शाह्रियर कादेर सिद्दिकी र विश्व बैंकका बंगलादेश तथा भुटानका लागि डिभिजन निर्देशक जिन पेस्मेले हस्ताक्षर गरेका छन् । परियोजना कार्यान्वयनको जिम्मेवारी बंगलादेश बैंकले पाउनेछ भने अर्थ मन्त्रालयको वित्तीय संस्था विभागले यसको सुपरिवेक्षण गर्नेछ ।
कुल ३२८ मिलियन विशेष आहरण अधिकार (एसडीआर) बराबरको यो सहयोग अमेरिकी डलरमा करिब ४५० मिलियन हुनेछ । ऋणमा निकासा भएको रकममा वार्षिक १.५ प्रतिशत ब्याज लाग्ने व्यवस्था गरिएको छ । ऋणको परिपक्वता अवधि २५ वर्ष तोकिएको छ, जसमा पाँच वर्षको ग्रेस अवधि समावेश छ । निकासा नभएको रकममा लाग्न सक्ने प्रतिबद्धता शुल्क भने विश्व बैंकले बंगलादेशका लागि हालसम्म छुट दिँदै आएको छ ।
परियोजनाको कार्यान्वयन अवधि १ जुलाई २०२६ देखि ३० जुन २०३१ सम्म तोकिएको छ । यद्यपि, सम्झौतामा हस्ताक्षर भइसके पनि ४५० मिलियन डलरको रकम एकैपटक निकासा भइसकेको भन्ने होइन । रकम निकासाको निश्चित मिति र किस्ताबारे सार्वजनिक विवरणमा स्पष्ट उल्लेख छैन ।
विश्व बैंकको यो सहयोग बंगलादेशको बैंकिङ प्रणालीमा देखिएका संरचनागत समस्या समाधान गर्ने प्रयाससँग जोडिएको छ । बैंकहरूको नियमन तथा सुपरिवेक्षण प्रभावकारी बनाउने, वित्तीय सुरक्षाको व्यवस्था मजबुत पार्ने र समस्याग्रस्त बैंकको पुनर्संरचनालाई अघि बढाउने यस परियोजनाका प्रमुख उद्देश्य हुन् ।
विश्व बैंक बंगलादेशको प्रमुख बहुपक्षीय विकास साझेदारमध्ये एक हो । पछिल्लो सम्झौताले बैंकिङ क्षेत्रको संस्थागत सुधार र वित्तीय स्थायित्व कायम गर्ने बंगलादेशको प्रयासमा अन्तर्राष्ट्रिय सहयोग थपिएको देखाएको छ ।