November 17th, 2016

पुँजीवृद्धिका लागि एभरेष्ट बैंकको बम्पर योजना : ७० प्रतिशत बोनसपछि हकप्रद पनि

everest bankएभरेष्ट बैंकले राष्ट्र बैंकले तोकेबमोजिम पुँजी पुर्याउनका लागि बम्पर योजना ल्याएको छ । बैंकले आफ्ना सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीबाट तीन बराबर एकको अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने भएको छ । बैंकको बुधबार सम्पन्न २७४ औँ सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

हाल बैंकको चुक्तापुँजी दुई अर्ब ७५ करोड रुपैयाँ छ । ७० प्रतिशत बोनस जारी गरेपछि बैंकको चुक्तापुँजी चार अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि तीन बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्दा बैंकको पुँजी ६ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ । 

बैंकको उक्त प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाबाट पारीत हुन बाँकी छ । बोनस सेयरको हल्लाका कारण केही दिन यता एभरेष्ट बैंकको सेयरमा लगानीकर्ताको अत्याधिक चाप देखिएको छ ।