२०८० फाल्गुन ४ गते

बंगलादेशको बैंकिङ क्षेत्र खराब कर्जाको मारमा

 

बैंकिङ खबर/ वित्तीय क्षेत्रप्रति विश्वासको कमीका कारण बंगलादेशको समग्र अर्थतन्त्रमा नै प्रतिकूल असर परिरहेको त्यहाँका अर्थविद्हरुले बताएका छन् । अर्थविद्हरुले सरकार र सम्बन्धित नियामक निकायहरुलाई बैंक तथा वित्तीय संस्थामा सुशासन सुनिश्चित गर्न र नियामकीय निर्देशन अवज्ञा गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुमाथि दण्डात्मक कदम चाल्न आग्रह पनि गरेको बंगलादेशी सञ्चार माध्यम ‘द डेली स्टार’ ले उल्लेख गरेको छ ।

राजधानी ढाकामा आयोजित वित्तीय क्षेत्रको रुपान्तरण विषयक कार्यक्रममा अर्थविद्हरुले बंगलादेशको बैंक, सेयर बजार, ऋणपत्र बजार र बीमा क्षेत्र समेटिएको आन्तरिक वित्तीय क्षेत्र छिमेकी मुलुकहरुको तुलनामा कम विकास भएको बताएका छन् ।

सुशासनको अभावमा वित्तीय क्षेत्रले बंगलादेशको वास्तविक अर्थतन्त्रलाई टेवा दिन नसकेको अर्थशास्त्रीहरुको भनाई छ ।अर्थशास्त्रीहरुले वित्तीय क्षेत्रले जनताको विश्वास गुमाएको र यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको पनि बताएका छन् ।

अर्थशास्त्री अहसान एच मन्सुरले ‘बैंकिङ क्षेत्र सुधारको लागि कुरा मात्रै धेरै भएको तर त्यसतर्फ कुनै पहल नभएको बताएका छन् । बंगलादेशको बैंकिङ क्षेत्र पनि खराब कर्जाको मारमापछिल्लो समय नेपालका बैंकहरु मात्र नभई बंगलादेशका बैंकहरु पनि खराब कर्जाको उत्तिकै मारमा परेको देखिएको छ ।

अर्थशास्त्री मन्सुरले बंगलादेशका बैंकहरुको वास्तविक खराब कर्जाको अनुपात कुल प्रवाहित कर्जाकोे २४% देखि २५% सम्म पुगेको बताएका छन् । बंगलादेशी बैंकहरुको खराब कर्जा चिन्ताजनक स्थितिमा पुगेको विश्लेषण गरिएको छ ।सन् २०२३ मा मात्रै त्यहाँका बैंकहरुको खराब कर्जा २ खर्ब ५० अर्ब टाकाले बढेको देखिएको छ । बैंक अफ बंगलादेशको तथ्यांक अनुसार सन् २०२३ को डिसेम्बरसम्ममा डिफल्ट कर्जा १४ खर्ब ५६ अर्ब टाका पुगेको छ । जुन सन् २०२२ को डिसेम्बरमा १२ खर्ब ६ अर्ब टाका रहेको थियो । बैंकलादेशको बैंकिङ क्षेत्र सुधारका लागि संशागत सुशासन सुनिश्चित गर्नुपर्ने र यस सम्बन्धी योजना ल्याउन राजनीतिक इच्छाशक्ति हुनुपर्ने सुझाव अर्थविद्ले दिएका छन् ।