November 15th, 2016

भारु नोट सटहीबारे प्रचण्ड र मोदीबीच फोनवार्ता

modi-prachandaनेपालमा रहेको पाँच सय र हजारका भारतीय रुपैयाँ सटहीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोनमार्फत भारु सटहीका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले धेरै नेपालीहरुले भारतमा काम गरेर कमाएको भारतीय रुपैयाँ सटहीको व्यवस्था छिटै गर्न मोदीलाई आग्रह गरेका हुन् । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले भारु सटहीका लागि नेपाल र भारतका अर्थमन्त्रीबीच सम्पर्क गरेर समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको स्रोतले बतायो ।

भारतले कालोधन, भष्ट्राचार र जालीनोट नियन्त्रणका लागि भन्दै ठूला दर भारुमा प्रतिबन्ध लगाएपछि आफूसँग भएको सो दरका नोट सटही हुन नसक्दा सर्वसाधारणहरु मर्कामा परेका छन् । विशेषतः सीमावर्ती क्षेत्रमा भारतीय नोट नै चलनचल्तीमा रहेकाले बढी समस्या देखिएको छ । यस समस्या सुल्झाउनका लागि नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबाट पहल भइरहेकोमा प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो तर्फबाट पहल थालेका हुन् ।