Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतमा नयाँ बजेट : थप २ करोड महिलालाई लखपति बनाउने, ७८ लाख सडक व्यापारीलाई ऋण दिने

२०८० माघ १८ गते

बैंकिङ खबर/ भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम बजेट पेस गर्नुभएको छ । यो बजेटमा करदाताका लागि कुनै नयाँ छुट दिइएको छैन । स्टार्टअपका लागि कर छुट एक वर्षका लागि बढाइएको छ ।

यस्तै चार करोड किसानलाई बिउबिजन बीमाको फाइदा मिल्ने अर्थमन्त्रीले बताउनुभयो । यसैगरी ७८ लाख सडक व्यापारीलाई ऋण सहायता दिने, सौर्य प्रणालीबाट बत्ती बाल्ने एक करोड परिवारलाई तीन सय युनिट बिजुली निःशुल्क दिने बजेटमा उल्लेख छ ।

भाषणकै क्रममा अर्थमन्त्री सीतारमणले अहिलेसम्म झन्डै एक करोड महिला लखपति बनेको र अब त्यो सङ्ख्यालाई तीन करोड बनाउने लक्ष्य रहेको बताउनुभयो । सरकारले मध्यम आय भएका व्यक्तिले घर किन्न सक्ने योजना ल्याउने उहाँको भनाइ छ ।

अर्थमन्त्री सीतारमणले यस पटक बजेट भाषण झन्डै एक घण्टासम्म पढ्नुभयो । उहाँले सबैभन्दा लामो बजेट भाषण सन् २०२० मा गर्नुभएको थियो, त्यो बेला उहाँले दुई घण्टा ४० मिनेटसम्म बजेट भाषण पढ्नुभएको थियो । अर्थमन्त्रीको रूपमा निर्मला सीतारमणले मोदी सरकारको छैटौँ बजेट पेस गर्नुभएको हो । यो अन्तरिम बजेट हो । आउँदो मेमा लोकसभा चुनावपछि आउने नयाँ सरकारले आमबजेट पेस गर्नेछ ।