November 15th, 2016

बैंकर्स संघको अध्यक्षमा अनिल शाह, औपचारिक घोषणा हुन बाँकी

anil-kesariवाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल केशरी शाह निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेपछि शाह निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षको औपचारिक घोषणा हुन भने बाँकी छ । यसका लागि बुधबार संघको साधारणसभा बस्दैछ । सभाले औपचारिक रुपमा शाहलाई बैंकर्स संघको अध्यक्ष घोषणा गर्नेछ । 

मेगा बैंकका सीईओसमेत रहेको शाह अहिले बैंकर्स संघका वरिष्ठ उपाध्यक्ष छन् । शाह अध्यक्ष भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन् । साधारणसभाले अनुमोदन गरेपछि उनी उपाध्यक्ष हुनेछन् ।

संघको विधान अनुसार कार्यसमितिको कार्यकाल दुई बर्षको हुन्छ । पहिलो बर्ष अध्यक्षको निर्वाचन भएपछि अर्को बर्ष बाँकी कार्यसमितिको चुनाव हुन्छ ।

हार्वर्ड विश्व विद्यालय अन्तर्गतको जोन एफ केनेडि स्कुल अफ गभर्मेन्टमा समेत अध्ययन गरेका शाहले एमबिए दिल्ली युनिभर्सिटीबाट गरेका हुन् । उनीले मार्केटिङमा पनि स्नातकोत्तर गरेका छन् 

शाहको बैंकिङ करिअरको सुरुवात इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बाट वित्तीय विश्लेषकका रुपमा भएको थियो । तत्कालिन नेपाल ग्रिण्लेज अर्थात अहिलेको नेपाल स्टान्डर्ड चार्टर्ड बैंक नेपालब व्यवसायिक रुपमा बैंकिङ सुरु गरेका उनी त्यहाँ प्रमुख सञ्चालक अधिकृत (सिओओ) सम्म भएका थिए । त्यसपछि नबिल बैंकमा महाप्रवन्धकमा रुपमा छिरेका उनी प्रमुख कार्यकारी अधिकृत भएर वाहिरिए । केही बर्षदेखि उनी मेगा बैंक नेपालमा प्रमुख कार्यकारी अधिकृत छन् ।