पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, बेनी शाखाका तत्कालीन शाखा प्रबन्धक गणेशप्रसाद पौडेललाई संस्थाको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको छ । शाखा प्रमुखको अधिकार दुरुपयोग गरी पौडेलले संस्थाको रकम हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हालै पक्राउ गरेकोमा आइतबार सार्वजनिक गरिएको हो ।
पौडेलले पश्चिमाञ्चल फाइनान्समा रहेको गरिमा विकास बैंकको रकम एक करोड ३८ लाख ५० हजार रुपैयाँ भुक्तानी लिई आफैँले उपभोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । संस्थाको खाता रहेको ग्रीन डेभलपमेन्ट बैंकमा जम्मा गर्न भनी संस्थाको भल्टबाट पटक–पटक गरी दुई करोड ५३ लाख रुपैयाँ लगेकोमा सो समेत बैंकमा जम्मा नगरी निजैले अपचलन गरेको समेत खुल्नमा आएको छ । संस्थामा रहेका विभिन्न ग्राहकका मुद्दती खाताबाट कीर्ते दस्तखत गरी एक करोड पाँच लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखाई स्वयम्ले उक्त रकमसमेत उपभोग गरेको प्रवक्ता प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए । पौडेलले शाखा प्रमुखको हैसियतले संस्थाबाट विभिन्न सातजना ऋणीलाई लगानी गरेका ३७ लाख ४१ हजार १८५ रुपैयाँ कर्जा चुक्ता हुनुअगावै धितो फुकुवा गरी कर्जा जोखिममा पारी संस्थालाई हानीनोक्सानी गरेको समेत उल्लेख छ । पौडेलले संस्थालाई कुल पाँच करोड ३३ लाख ९१ हजार १८५ रुपैयाँ हानीनोक्सानी गरेको लगायतका अभियोगमा निजलाई पक्राउ गरिएको हो ।
निजउपर बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


