नागरिकलाई खाद्य सम्प्रभुता दिलाउन सरकारको ध्यानकर्षण गराउने उद्देश्यले आइतबार नेकपा (माओवादी) ले नेपाल बन्दको घोषणा गर्यो । नागरिकको हितमा भन्दै नेपालमा यस्ता बन्द र हड्तालहरु धेरै हुने गरेका छन् । तर, यसरी गरिने बन्द हड्तालले नेपाललाई प्रत्यक्ष तथा अप्रत्यक्ष तवरबाट कति घाटा पुर्याइरहेको छ भन्ने कुरामा पनि ध्यान दिनु जरुरी छ । यस विषयमा आधिकारिक अध्ययन त खासै गरिएको पाइँदैन । एक दिन नेपाल बन्द हुँदा मुलुकले झन्डै दुई अर्ब घाटा व्यहोर्ने अनुमान गरिन्छ ।
राष्ट्र बैंकको अनुसन्धान महाशाखाले सन् २०१३ मा गरेको एक अध्ययन प्रतिवेदनअनुसार एक दिनको बन्दले मुलुकले १ अर्ब ८० करोड रुपैयाँ गुमाउनुपर्ने हुन्छ । सबै प्रकारका सेवा तथा औद्योगिक क्षेत्रले वस्तु तथा सेवाको उत्पादन गर्न नपाउने भएकाले उक्त रकम गुमाउनुपरेको हो । प्रतिवेदनअनुसार सबैभन्दा बढी बन्द राजनीतिक दलले गर्छन् । जम्मा बन्द हडतालमध्ये ३६ प्रतिशत बन्द राजनीतिक दलको हुन्छ ।
हाल नेपालमा झन्डै २१ लाख श्रमिक कर्मचारीहरु कार्यरत रहेको राष्ट्रिय तथ्यांक विभागको तथ्यांक छ । त्यस्तै, आफैँ मालिक र आफैँ कामदार भएकाहरु झन्डै एक करोड छन् । आफैँ मालिक भएकाहरुबाहेक बन्दको समयमा २१ लाख श्रमिक कामविहिन हुन पुग्छन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिक ८ हजार रुपैयाँ छ । उक्त आधारमा दैनिक र पछिल्लो दिनहरूसँग तुलना गर्दा मुलुकभरका उद्योग प्रतिष्ठानले बन्द हडतालका कारण दैनिक ७० करोड रुपैयाँ त्यतिकै खर्च गर्नुपर्ने अवस्था आउने देखिन्छ ।
तथ्यांकअनुसार उक्त २१ लाख कामदारमध्ये ३ लाख कामदार यातायात क्षेत्रमा कार्यरत छन् । बन्दको दिन यी कामदारले काम गर्ने १ लाख १८ हजार ५ सय ४४ वटा यातायात कामविहिन हुन्छन् । यातायात क्षेत्रमा मात्र १ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँ लगानी छ ।
पाँच वर्षमा एक खर्ब बढी क्षति
राष्ट्र बैंकको प्रतिवेदनअनुसार सन् २००८ पछिको ५ वर्षमा मुलुकमा ४ हजार ४ सय ५१ वटा बन्द हडतालसम्बन्धी घटना भएका थिए । सबैभन्दा बढी ५५ प्रतिशत तराईमा भएको थियो । मुलुकभर सबैभन्दा बढी सन् २०१० मा बन्द हडताल १ हजार २ सय ५ पटक भएको थियो । पाँच वर्षको अवधिमा ३६ प्रतिशत बन्द हडताल राजनीतिक दलले गराएको देखिन्छ ।
बन्द हडतालकै कारण मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ० दशमलव ५६ प्रतिशतदेखि २ दशमलव १५ प्रतिशतसम्म क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । पाँच वर्षको अवधिमा १ खर्ब १७ अर्ब रुपैयाँ क्षति पुगेको छ । सन् २०१० मा मात्रै बन्दका कारण जीडीपीमा २ दशमलव १५ प्रतिशत घाटा भएको थियो । नेपालमा हुने बन्द हडतालका घटनाका कारण औसतमा प्रतिवर्ष २७ अर्ब रुपैयाँ घाटा भएको छ ।