नेपाल राष्ट्र बैंकले सुनसान ठाउँमा एटिएम मेसिन नराख्न सबै बैंकहरुलाई आग्रह गरेको छ । एटिएम ह्याक गरी सर्वसाधरणको खाताबाट पैसा चोरी हुने घट्ना बढेपछि राष्ट्र बैंकले सबै बैंकहरुलाई अनौपचारिक रुपमा यस्तो आग्रह गरेको हो । राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिीवी नेपालले केही दिनमै सबै बैंकहरुलाई औपचारिक रुपमा पत्र पठाएर सुनसान ठाउँमा भएका एटिएम हटाउन समेत आग्रह गर्ने बताए ।
मिडिया इन्टरनेशनद्धारा भैरहवाको राष्ट्र बैंक शाखामा शनिबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर नेपालले सुनसान र मानिसहरुको कम चहलपहल हुने ठाउँमा एटिएम राख्दा जोखिम बढी हुने भन्दै यस्तो गर्न लागिएको जानकारी दिए । पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गरी काठमाडौँकै एटिएमबाट पैसा चोरी गरेको अभियोगमा केही विदेशी पक्राउ परेपछि यसबारे राष्ट्र बैंकको ध्यानाकर्षण भएको गभर्नर नेपालले बताए । पक्राउ परेका ती विदेशी नगरिकले विभिन्न बैंकका एटिएम बुथमा पसी हिडेन क्यामेरा र कार्डबाट डाटा कपी गर्ने र डिभाइस गोप्य रुपमा जडान गरी डाटा स्किमरको माध्यमबाट आफ्नो कार्डमा सारेर पुनः एटिएम बुथमा गई रकम निकाल्ने गरेको तथ्य फेला परेको थियो ।


