हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता भारत सरकारले ५ सय र १ हजार दरका भारतीय नोटमा प्रतिबन्ध लगायो । यसबाट भारु प्रयोग गर्ने नेपालीहरु प्रभावित भए । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
भारु ५ सय र १ हजार मा प्रतिबन्ध
भारत सरकारले यो सातादेखि ५ सय र १ हजार दरका भारतीय नोटमा प्रतिबन्ध लगायो । नेपालमा पनि भारतीय नोट चलनचल्तीमा भएकाले यसको प्रभाव नेपाली बजारमा पनि देखियो । नेपालको बैंकिङ प्रणालीमा साढे ३ करोड रुपैयाँ बराबरको यी दरका भारतीय नोट रहेको राष्ट्र बैंकले पुष्टी गर्यो । उक्त नोट साट्न राष्ट्र बैंकले पहल गरिरहेको छ । वित्तीय प्रणालीबाहिर ठूलो मात्रामा उक्त दरका नोट रहेको अनुमान गरिएको छ । नेपालको भारतीय सीमा क्षेत्रको व्यापार व्यवसायहरु यसबाट प्रभावित भइरहेका छन् ।
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प
विश्वकै शक्तिशाली राष्ट्र भएका नाताले अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प नियुक्त हुँदा विश्व अर्थतन्त्र नै प्रभावित बन्यो । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको दिन बुधबार डलरको भाउ घट्यो, सेयर बजारमा उथलपुथल मच्चियो, अनि सुन अत्याधिक महँगियो । त्यसको विपरीत विहीबार, सेयर बजार सुधारियो र सुनको भाउ उल्लेख्य रुपमा घट्यो ।
काष्टमण्डप र हिमालयनको हकप्रद निष्काशन
काष्टमण्डप डेभलपमेन्ट बैंक र हिमालयन बैंकको हकप्रद सेयर निष्काशन शुक्रबारदेखि खुला भयो । काष्मण्डपले चार बराबर एक र हिमालयनले सात बराबर एकको अनुपातका हकप्रद निष्काशन खुला गरेका हुन् । काष्टमण्डपले हकप्रद एनसिएम मर्चेन्ट बैंकिङले निष्काशन गर्दैछ भने हिमालयनको हकप्रद लक्ष्मी क्यापिटलले गर्दैछ । दुबैको हकप्रद भर्ने म्याद आगामी मंसिर ३० गतेसम्म रहेको छ ।
मञ्जुश्री र नमस्तेलाई हकप्रद निष्काशनको अनुमति
मञ्जुश्री फाइनान्स र नमस्ते वित्तीय संस्थाले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । मञ्जुश्रीले १ सय ७५ प्रतिशत र नमस्ते वित्तीय संस्थाले शतप्रतिशत हकप्रद निष्काशनका लागि बोर्डको स्वीकृति पाएका हुन् ।
विजय र विराटलक्ष्मीलाई वोनस दिने अनुमति
विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र विराटलक्ष्मी विकास बैंक लिमिटेडले बोनस सेयर जारी गर्न राष्ट्र बैंकबाट स्विकृति पाए । विजय लघुवित्तले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश र विराटलक्ष्मीले १८.५० प्रतिशत बोनस सेयर तथा ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्न स्विकृति पाएका हुन् ।
सिटी एक्सप्रेसबाट पैसा पठाउनेलाई पाए ३२ इन्चको एलइडि
सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका तेस्रो अर्थात अन्तिम साप्ताहिक विजेता घोषणा गर्यो । ‘सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्’ उपहार कार्यक्रमअन्तर्गत काशिनन्द्र यादबले ३२ इन्च एल.इ.डि. टेलिभिजन प्राप्त गरे ।
वित्तीय जागरण राष्ट्रिय अभियान सुरु
मिडिया इन्टरनेशनलले वित्तीय जागरण राष्ट्रिय अभियान सञ्चालन गर्यो । बुद्धको जन्मस्थल लुम्बिनीबाट सो अभियानको सुरुवात शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले गरे । रुद्रपुरस्थित ज्ञान निकेतन उच्च माविमा उक्त कार्यक्रमको समुद्घाटन गरियो ।
नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बुधबार ५० करोड रुपैयाँ बराबरको तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गर्यो । सोमबार राष्ट्र बैंकले सवा चार अर्ब रुपैयाँको ट्रेजरी बिल विक्रि गर्यो ।
शाखा, सेवा तथा प्रविधि विस्तार
ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसनबीच एक आपसमा व्यवसायीक सहयोग आदानप्रदान गर्ने विषयमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक मेङ्गेस्तु एलिमह्युबीच भेटघाट भयो । सिद्धार्थ बैंकले आधुनिक बैंकिङ्ग प्रणालीमा आधारित आफ्नै पीओएक मेशिनहरु बजारमा ल्यायो । एनआइसी एसिया बैंकले मंलबार एकैदिन पोखराको बिरौटा र लेखनाथ, बागलुङ, नुवाकोटको बट्टार, कैलालीको अत्तरिया, नवलपरासीको दलदले र कावासोतीमा गरी कुल ७ शाखा सञ्चालनमा ल्यायो । कृषि विकास बैंक लि. र इजी लिंक रेमिट्यान्स प्रा.लि.बिच रेमिट्यान्स सम्झौता सम्पन्न भयो ।