November 11th, 2016

हिमालयन बैंकको हकप्रद खुल्यो, यसरी दिनुस् आवेदन

himalayan bankहिमालयन बैंक लिमिटेडले सात बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ६४ करोड २७ लाख ३५ हजार रुपैयाँ बराबरका ६४ लाख २७ हजार तीन सय ५० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । गत असोज १२ गते हकप्रद निष्कानशको स्विकृति पाएको बैंकले शुक्रबार (कात्तिक २६ गते) देखि आगामी मंसिर ३० गते सम्मका लागि हकप्रद निष्काशन खुला गरेको हो । 

हिमालयन बैंकको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । हिमालयन बैंक लिमिटेड, कमलादी, काठमाडौं र शाखा कार्यालयहरु तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयां बानेश्वर, काठमाडौंमार्फत् उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ । यसबाहेक निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंद्वारा अन्य माध्यममार्फत सूचित गरिने सङ्कलन केन्द्रको रुपमा कार्य गर्ने गरी नियुक्त वित्तीय संस्थाहरुमा हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु प्राप्त गर्न वा हेर्न सक्ने, आवेदन फारम पाउने, बुझाउने र रकम जम्मा गर्ने व्यवस्था गरिनेछ । यसबाहेक अन्य स्थानबाट आवेदन दिन चाहनेहरुले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको नाममा खिचिएको एकाउण्ट पेयी ड्राफ्टसाथ धितोपत्रको लागि आवेदन सिधै हुलाक वा कुरियरद्वारा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयां बानेश्वर, काठमाडांैमा पठाउन सक्नेछन् ।

हाल हिमालयन बैंकको चुक्तापुँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैयाँ रहेको छ । ७ बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँनी पाँच अर्ब १४ करोड १८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशनअनुसार, अबको आठ महिनामा बैंकले दुई अर्ब ८६ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।