October 29th, 2023

रूसी केन्द्रीय बैंकले बढायो ब्याजदर

बैंकिङ खबर/ रूसको केन्द्रीय बैंकले रूसी अर्थतन्त्रमा मुद्रास्फिति बढ्दै गएको भन्दै ब्याजदर १३ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ । युक्रेनमा मस्कोले गरेको आक्रमणको आर्थिक असरसँग जुध्ने प्रयास गरिरहेको केन्द्रीय बैंकले केही महिनायता ब्याजदरमा गरेको यो चौथो वृद्धि हो ।

“हालको मुद्रास्फीतिको दबाब बैंक अफ रसियाको अपेक्षाभन्दा उल्लेख्य रूपमा बढेको छ,” केन्द्रीय बैंकले ब्याजदर दर वृद्धिको घोषणा गर्दै जारी एक विज्ञप्तिमा भनेको छ ।लाखौं सैनिकहरूलाई सेवामा बोलाउँदा सरकारी सैन्य खर्चमा भएको वृद्धिले रूसी घरेलु अर्थव्यवस्थालाई अत्यधिक प्रभावित पार्ने सङ्केतहरू देखाएको छ ।

केन्द्रीय बैंकले वार्षिक मुद्रास्फीति ६.६ प्रतिशतमा रहेको र यो लक्ष्य चार प्रतिशतभन्दा बढी रहेको जनाएको छ । उच्च ब्याज दरहरूले कर्जा दर महँगो बनाएको छ भने यसले उपभोक्ता र व्यवसायहरूलाई बचत गर्न, खर्च नगर्न प्रोत्साहित गरेर माग कम गर्ने योजना बनाइएको छ ।
बैंकले आगामी महिनाहरूमा पनि मूल्य वृद्धि भइरहने ‘पर्याप्त’ जोखिम देखिएको जनाएको छ ।

“केन्द्रीय बैंकले आक्रामक रूपमा यसको मुख्य दर बढाएको छ,” मस्कोस्थित अल्फा बैंकका विश्लेषकहरूले एक अनुसन्धान रिपोर्टमा भनेका छन्, “यो बजारले अपेक्षा गरेभन्दा कठिन कदम हो ।” रूसी रुबल अमेरिकी डलरसँग ९३ को हाराहारीमा पुगेको थियो । विनिमय दरलाई राजनीतिज्ञ, व्यवसाय र रूसी जनसङ्ख्याले रूसको आर्थिक स्वास्थ्यको प्रमुख ब्यारोमिटरको रूपमा हेरिन्छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]